काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा एक्कासि ठुलो उछाल आएको छ । अमेरिकामा हालै सम्पन्न सिनेट निर्वाचनको नतिजामा राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको दल रिपब्लिकन पार्टीलाई धक्का लागेसँगै विश्वभर सुनको मूल्य बढेको हो । केही दिनअघिसम्म प्रतिऔंस ४ हजार डलरभन्दा तल रहेको सुनको मूल्य अहिले ४ हजार १ सय डलरभन्दा माथि कारोबार भइरहेको छ । नेपालमा पनि एकै दिन सुनको मूल्य १३ हजार ३ सय रुपैयाँले बढेको छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले यसका चारवटा मुख्य कारण औँल्याएका छन् । पहिलो हो, डलरको सूचकाङ्कमा आएको गिरावट । चुनावको नतिजा सार्वजनिक भएसँगै अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरको मूल्य खस्किएको छ । सुनको अन्तर्राष्ट्रिय कारोबार डलरमा हुने भएकाले डलर कमजोर हुँदा अन्य मुद्रा भएका लगानीकर्ताका लागि सुन खरिद सस्तो पर्छ, जसले विश्वभर सुनको माग बढाएर मूल्य उकालो लाग्न मद्दत गरेको छ ।
दोस्रो कारण हो, नीतिगत र आर्थिक अनिश्चितता । ट्रम्पको हारसँगै अमेरिकी संसदमा सत्ता सन्तुलन फेरिएको छ । संसद र राष्ट्रपतिबिचको सम्भावित द्वन्द्वले आगामी दिनमा अमेरिकी कर नीति, वैदेशिक व्यापार र सरकारी खर्चसम्बन्धी नीतिमा परिवर्तन ल्याउने अनिश्चितता बढाएको छ । बजारमा अन्यौलता छाउँदा लगानीकर्ताहरू शेयर बजारजस्ता जोखिमयुक्त क्षेत्रबाट पैसा निकालेर सुरक्षित लगानीका रूपमा मानिने सुनतर्फ आकर्षित हुन्छन् ।
तेस्रो कारण हो, ट्रेजरी प्रतिफलमा आएको कमी । निर्वाचनपछि अमेरिकी सरकारी ऋणपत्रको प्रतिफल घटेको छ, र सुन आफैँमा ब्याज नदिने सम्पत्ति भएकाले बन्ड वा बैंकको ब्याजदर घट्दा सुन होल्ड गर्ने अवसर लागत कम हुन्छ । चौथो कारण हो, फेडको ब्याजदर रणनीति — राजनीतिक समीकरण बदलिएपछि फेडरल रिजर्भले ब्याजदर कटौती गर्न सक्ने बजारको अनुमान बढेको छ, जसले सुन र चाँदीको मूल्यलाई माथि उचाल्न मद्दत गरेको छ ।
