सुर्खेत । सुर्खेत प्रहरीले यहाँका विभिन्न सामुदायिक वनबाट १४ थान भरुवा बन्दुक बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता कवीन्द्रसिंह बोहोराका अनुसार गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले लगातार दुईवटा सामुदायिक जङ्गलबाट ती भरुवा बन्दुक बरामद गरेको हो ।
बिहीबार बेलुका बराहताल गाउँपालिका–७ स्याउलेस्थित पानीडाँडा सामुदायिक वनमा खोजतलास गर्दा ८ थान भरुवा बन्दुक फेला परेको थियो । तीमध्ये ५ वटा साबुत र ३ वटा बेसाबुत रहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी शुक्रबार सोही गाउँपालिकाको वडा नम्बर ५ स्थित साजघारी सामुदायिक वनबाट थप ६ थान भरुवा बन्दुक बरामद भएको बोहोराले बताए । तीमध्ये ४ वटा साबुत र २ वटा बेसाबुत रहेको उनले बताए ।
उक्त हतियार कसले र किन जङ्गलमा लुकाएर राखेको हो भन्ने सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यसअघि पनि केही जङ्गलबाट प्रहरीले बन्दुक बरामद गरेको थियो । जङ्गलमा लुकाइएका हतियारबारे प्रहरीले निगरानी र खोजतलासलाई निरन्तरता दिएको जनाएको छ ।
