काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार सञ्चालनमा हस्तक्षेप नगर्ने र कुनै व्यक्तिलाई पदमा राख्ने वा हटाउने निर्देशन नदिने प्रस्ट पारेको छ । पार्टीका प्रवक्ता जगदीश खरेलले सरकारलाई त्यस्तो कुनै निर्देशन नदिइएको बताएका हुन् ।
मन्त्रिपरिषद्को आजको बैठकले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई हटाएर अतिरिक्त महानिरीक्षक मनोज कार्कीलाई महानिरीक्षक बनाउने निर्णय गरेको थियो । निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता सस्मित पोखरेलले पार्टीको निर्देशनअनुसार कार्कीलाई हटाइएको बताएका थिए ।
तर प्रवक्ता खरेलले पार्टीले सरकारलाई प्रधानमन्त्रीको काममा सहयोग गर्ने भए पनि व्यक्ति हटाउने वा राख्ने काम नगर्ने बताए । उनले पार्टीले त्यस्तो निर्देशन दिएको पनि छैन र दिँदैन भन्ने प्रस्ट पारे ।
उनले केही दिनअघि समाचारका कारण पत्रकार पक्राउ परेको घटनामा पनि सरकारले स्पष्टता दिनुपर्ने बताए । उनले त्यस घटनामा पक्राउ गर्ने व्यक्ति र आदेश दिनेविरुद्ध कारबाही गर्न पार्टीले भनेको उल्लेख गरे । सरकारले भने कार्कीलाई कारबाही नभई जिम्मेवारी हेरफेर मात्र भएको बताएको छ । खरेलले यस विषयमा सरकारले नै थप स्पष्ट पार्नुपर्ने धारणा राखे ।
