काठमाडौँ । आश्विन शुक्ल पूर्णिमासँगै आजदेखि कार्तिक स्नान, आकाशदीप दान र तुलसीको विशेष पूजा विधिवत् रूपमा सुरु भएको छ। यो धार्मिक परम्परा आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म एक महिना चल्नेछ।
धार्मिक विश्वासअनुसार यस अवधिमा कार्तिक स्नान गर्नुका साथै तुलसीको विशेष आराधना र आकाशदीप दान गरेमा सौभाग्य, सम्पत्ति र पुण्य प्राप्त हुन्छ। आकाशदीपका लागि सम्भव भएसम्म बाँसको लिङ्गो प्रयोग गरिन्छ भने बाँस नपाइए पलाँस, खएर वा पीपलको लिङ्गो ठड्याएर दीप बाल्ने चलन छ। यो दीप भगवान् विष्णुलाई समर्पण गरेर बालिन्छ।
तुलसी पूजा घरघरमा विशेष रूपमा गरिन्छ र सूर्योदयअघि नै सम्पन्न गरिसक्नुपर्ने मान्यता छ। यसरी पूजा गरे मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताएका छन्। उनका अनुसार आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक स्नान गरे महापातकबाट समेत मुक्ति मिल्ने शास्त्रीय विश्वास छ।
कार्तिक स्नान गर्नेहरूले आजदेखि कार्तिक शुक्ल पूर्णिमासम्म दुई दल भएका अन्न — मास, मुगी, मुसुरो, चना र भटमास — खान नहुने शास्त्रीय मान्यता छ। यस अवसरमा आज स्वयम्भू चैत्यमा महादीप दान पनि गरिँदै छ।
यसै दिन पर्ने कोजाग्रत पूर्णिमा भने गएराति नै मनाइएको छ। शास्त्रीय वचनअनुसार मध्यरातमा पूर्णिमा परेको दिन कोजाग्रत मनाइन्छ भने सूर्योदय वा साँझमा पूर्णिमा परेको दिन पूर्णिमा व्रत, कार्तिक स्नानको सुरुआत, आकाशदीप दान र तुलसीको विशेष पूजा गर्नुपर्ने गौतमले बताए।
