भोजपुरमा धान भित्र्याउने बेला नजिकिँदै जाँदा बालीमा देखिएको किराको प्रकोपले किसानलाई चिन्तित बनाएको छ। जिल्लाको भोजपुर नगरपालिका–५ बोखिम क्षेत्रका धेरैजसो खेतमा धानको फेदमा ‘लाई किरा’ लागेको छ। यसले बोटको तल्लो भागमा क्षति पुर्याउँदा बोटहरू ढल्न थालेका छन् भने बाला सुक्ने र पराल बिग्रने समस्या पनि देखिएको छ।
स्थानीय किसान धनबहादुर थापाका अनुसार अघिल्ला वर्षहरूमा यस्तो प्रकोप देखिएको थिएन। यस वर्ष भने किराको आक्रमणले बालीमा ठूलै नोक्सानी पुर्याएको छ। फेदमै क्षति पुगेपछि बोट कमजोर भएर ढल्ने र त्यसले धानसँगै परालमा समेत असर पार्ने उनले बताए। बालीमा किरा देखिएपछि यस वर्षको उत्पादन घट्ने चिन्ता किसानमा बढेको छ।
सोही वडाकी अर्की किसान गीता विष्टले पनि आफ्नो खेतमा फेदमा किरा लागेको बताइन्। किराले फेदबाट रस चुस्दा बोट सुक्ने र बाला कालो भएर झर्ने गरेको उनको भनाइ छ। वर्षभरि खाने मुख्य बाली नै भित्र्याउने बेलामा नष्ट हुन थालेपछि किसान समस्यामा परेका छन्।
कटनीको समय नजिकिँदै गर्दा बालीमा समस्या देखिएकाले वर्षभरि गरेको मेहनत र लगानी खेर जाने डर किसानमा छ। बोट ढलेपछि बाली भित्र्याउन पनि कठिन हुने भएकाले धान र पराल दुवैमा हुने क्षतिले उनीहरूलाई थप मार पर्ने देखिएको छ।
