नेपाली क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ। नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिताका सबै तयारी पूरा भएको जनाएको छ।
उद्घाटन खेलमा आज साँझ पाँच बजे कीर्तिपुर मैदानमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुनेछन्। यी दुवै टोली अघिल्लो संस्करणका फाइनलिस्ट हुन्, त्यसैले उद्घाटन खेलमै रोमाञ्चक भिडन्तको अपेक्षा गरिएको छ।
अघिल्लो फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै उपाधि जितेको थियो। तर समग्र भिडन्तमा भने सुदूरपश्चिम अगाडि देखिन्छ। दुई टोलीबीच अहिलेसम्म तीन खेल भएका छन्, जसमध्ये फाइनलबाहेकका दुवै खेल सुदूरपश्चिमले जितेको छ। अघिल्लो सिजनको लिग चरणमा सुदूरपश्चिमले लुम्बिनीलाई ७ विकेटले पराजित गरेको थियो भने त्यसअघिको सिजनको लिग खेलमा ४५ रनको जित हात पारेको थियो।
हालको फर्म हेर्दा लुम्बिनी बलियो लयमा छ। पछिल्ला पाँच खेलमा लुम्बिनी अपराजित रहेको छ। फाइनलअघि उसले दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनले र इलिमिनेटरमा काठमाडौं गोर्खाजलाई चार विकेटले हराएको थियो। लिग चरणको अन्तिम खेलमा जनकपुर बोल्ट्सलाई चार विकेटले हराउनुका साथै त्यसअघि विराटनगरलाई पनि पाँच विकेटले पराजित गरेको थियो।
सुदूरपश्चिमको पछिल्लो पाँच खेलको नतिजा भने मिश्रित छ। तीन खेलमा जित र दुईमा हार व्यहोरेको उसले फाइनलअघिको पहिलो क्वालिफायरमा विराटनगरविरुद्ध ७७ रनको फराकिलो जित निकालेको थियो। त्यसपछि लिग चरणको अन्तिम खेलमा भने विराटनगरसँगै ६ विकेटले पराजित भएको थियो। त्यसअघि चितवन राइनोजविरुद्ध ४९ रन र जनकपुर बोल्ट्सविरुद्ध ७२ रनको जित हात पारेको थियो।
सुदूरपश्चिमको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्नेछन् भने लुम्बिनीको नेतृत्व रोहित पौडेलले गर्नेछन्। दुवै टोलीमा चर्चित स्वदेशी तथा विदेशी खेलाडीको बलियो उपस्थिति छ, जसले उद्घाटन खेललाई झनै प्रतिस्पर्धात्मक बनाउने अपेक्षा गरिएको छ।
