सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले प्रेस स्वतन्त्रता कायम राख्दै आमसञ्चार क्षेत्रलाई अझ व्यवस्थित, जिम्मेवार र उत्तरदायी बनाउनुपर्ने बताएका छन्। प्रस्तावित आमसञ्चारसम्बन्धी विधेयक, २०८३ को मस्यौदाबारे मन्त्रालयमा बिहीबार आयोजित सरोकारवालासँगको छलफलमा उनले यस्तो धारणा राखेका हुन्।
मन्त्री तिमिल्सिनाले प्रेस स्वतन्त्रता र त्यसको दुरुपयोगबीचको सीमा कानुनबाटै स्पष्ट हुनुपर्नेमा जोड दिए। कानुन र सञ्चारमाध्यम लोकतान्त्रिक समाजका महत्त्वपूर्ण आधार भएकाले दुवैबीचको सम्बन्ध जिम्मेवारीपूर्वक सम्बोधन गर्नुपर्ने उनको भनाइ थियो।
पत्रकारले आफूले सम्प्रेषण र सम्पादन गर्ने सामग्रीलाई साधारण नागरिक तथा उपभोक्ताका रूपमा पनि हेर्नुपर्ने उनको सुझाव थियो। पत्रकारिता समाजको अत्यन्त जिम्मेवार र सामाजिक उत्तरदायित्व भएको काम भएकाले आफ्नै कामको मूल्याङ्कन त्यसरी गर्न सके संविधानले दिएको प्रेस स्वतन्त्रता र नागरिकको व्यक्तिगत स्वतन्त्रता दुरुपयोग नहुने उनको तर्क थियो।
प्रेस स्वतन्त्रता संवैधानिक अधिकार हो, कसैले खोस्न सक्दैन भन्दै उनले अर्को संविधान आए पनि अधिकार हनन् नहुने तर प्रेसले त्यसको दुरुपयोग गर्न नहुने र सम्मान गर्नुपर्ने बताए। कानुन र मिडियाबीचको सम्बन्ध संवेदनशील हुने भएकाले एकअर्काको मर्यादा र दायराभित्र रहेर परिभाषा गर्नुपर्ने उनको भनाइ थियो। मिडिया र राजनीति जति स्वस्थ हुनुपर्ने हो, त्यति नभएकाले सबैले आफूलाई सुधारेर अघि बढ्नुपर्नेमा पनि उनले जोड दिए।
सरकारले प्रेस र नागरिकको अभिव्यक्ति स्वतन्त्रता रक्षा गर्दै मिडियाले खोजेको र राष्ट्रिय आवश्यकताअनुसारको आमसञ्चार कानुन बनाइरहेको उनले स्पष्ट पारे। सबै सरोकारवालाको सहभागिता र परामर्श आवश्यक हुने भएकाले कैयौँ चरणमा छलफल गरिने उनको भनाइ थियो। मन्त्रालयका सचिव राजेन्द्रकुमार पौडेलले सुझावका आधारमा मस्यौदा परिमार्जन गरी परिष्कृत बनाइने र पर्याप्त छलफलपछि मात्र विधेयकलाई अन्तिम रूप दिइने बताए। छलफलमा विभिन्न सञ्चारमाध्यमका प्रतिनिधिले सुझाव दिएका थिए।
