गाजा — इजरायली सेनाको नियन्त्रण र प्रतिबन्धका कारण गाजाको ७० प्रतिशतभन्दा बढी भूभागमा प्यालेस्टिनीको पहुँच सीमित भएको छ। मानव अधिकारका लागि गाजा केन्द्रका अनुसार आवास र आश्रयका लागि प्रयोग गर्न सकिने जमिन गाजाको कुल क्षेत्रफलको करिब १५ प्रतिशतमा सीमित भएको छ।
केन्द्रका अनुसार इजरायली सेनाले आफ्नो नियन्त्रणमा रहेको क्षेत्रको सीमा पश्चिमतर्फ विस्तार गर्दै लगेको छ। गोलाबारी, गोली प्रहार र भवन तथा अन्य संरचना भत्काउने कार्यले बाक्लो बस्तीमा बसिरहेका प्यालेस्टिनीलाई घर छोड्न बाध्य बनाएको छ।
गाजाको कुल क्षेत्रफल ३६५ वर्ग किलोमिटर छ। तर संरचनामा पुगेको क्षति र आधारभूत सेवा नहुँदा आवास तथा आश्रयका लागि उपलब्ध जमिन निकै कम भएको केन्द्रको भनाइ छ। पटकपटक विस्थापित हुनुपर्ने अवस्था, आश्रयको अभाव र पुनर्निर्माणमा लगाइएका रोकले सर्वसाधारणको कठिनाइ बढाएको छ। यसले विस्थापित भएका मानिसलाई सुरक्षित रूपमा घर फर्कनसमेत कठिन बनाएको छ।
केन्द्रले इजरायली गतिविधिले चौथो जेनेभा महासन्धिको धारा ४९ को उल्लङ्घन हुन सक्ने चिन्ता व्यक्त गरेको छ। उक्त धाराले केही अपवादबाहेक कब्जा गरिएको क्षेत्रका संरक्षित व्यक्तिलाई जबर्जस्ती अन्यत्र सार्न रोक लगाउँछ। केन्द्रले युद्धविराम गराउन भूमिका खेलेका अमेरिका, इजिप्ट, कतार र टर्कीलाई सेनाको नियन्त्रण क्षेत्र थप विस्तार हुन नदिन पहल गर्न आग्रह गरेको छ। प्यालेस्टिनी नागरिकको सुरक्षा, गाजाको पुनर्निर्माण र विस्थापितको सुरक्षित तथा स्वेच्छिक घर फिर्तीको वातावरण बनाउन पनि ती देशसँग आग्रह गरिएको छ।
