नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले अर्नव चक्रवातबाट हुन सक्ने प्रभावलाई ध्यानमा राखेर यातायात सञ्चालनमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। महासङ्घका महासचिव डेकनाथ गौतमले आज सूचना जारी गर्दै आज रातिदेखि कात्तिक १४ गतेसम्म देशका विभिन्न प्रदेशमा खराब मौसमको सम्भावना रहेकाले व्यवसायीलाई सतर्क रहन भनेका हुन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचनालाई उद्धृत गर्दै महासङ्घले कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मौसमको बढी प्रभाव पर्ने पूर्वानुमान रहेको जनाएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा हावाहुरी तथा मध्यम वर्षा र हिमाली क्षेत्रमा हिमपात हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।
महासचिव गौतमले सम्बन्धित जिल्लाका सुरक्षा निकाय तथा स्थानीय प्रशासनसँग समन्वय गरेर मात्र लामो तथा छोटो दूरीका यात्रुवाहक र मालवाहक सवारी सञ्चालन गर्न व्यवसायीलाई आग्रह गरे। अवस्था जोखिमपूर्ण भएमा आवश्यकता अनुसार सवारी आवागमन बन्द गर्न र बन्द गर्नुअघि सर्वसाधारणलाई अग्रिम जानकारी गराउन पनि भनिएको छ।
खराब मौसमका कारण सडक तथा हवाई यातायातसहित दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले अत्यावश्यक कामबाहेक यात्रा नगर्न महासङ्घले सर्वसाधारणलाई अनुरोध गरेको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा भ्रमणमा जाने पर्यटकलाई यात्रा नगर्न र गइसकेकालाई मौसम सामान्य नहुँदासम्म सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ। जोखिमयुक्त स्थानका बासिन्दालाई सुरक्षित स्थानमा जान र आधिकारिक सूचना हेर्न भनिएको छ। मौसमसम्बन्धी जानकारीका लागि हटलाइन ११५५ तथा विपद्का बेला सहयोगका लागि १२३४, १०० वा १११४ मा सम्पर्क गर्न महासङ्घले आग्रह गरेको छ।
