कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहीबार साँझ भएको नेपाल प्रिमियर लिगको खेलमा विराटनगर किङ्सले बलियो योगफल खडा गरेको छ। टस गुमाएर पहिले ब्याटिङ गर्न आएको विराटनगरले तोकिएको २० ओभरमा १८६ रन जोड्यो, जसले कर्णाली याक्ससामु जितका लागि १८७ रनको लक्ष्य तेर्सिएको छ।
विराटनगरको पारीको केन्द्रमा ओपनर लोकेश बम रहे। उनले ५२ बल खेल्दै ३ चौका र ९ छक्कासहित ८७ रन बनाए। लामो समय क्रिजमा टिकेर उनले टोलीलाई बलियो स्थितिमा पुर्याए, तर सोमपाल कामीको बलमा उनी समातिएर फर्किए।
लोकेशबाहेक एन्जेलो म्याथ्युजले २३ बलमा ३१ रन र आन्द्रे रसेलले १५ बलमा २७ रन जोडे। बलिङमा कर्णालीका कप्तान सोमपाल कामी सबैभन्दा सफल रहे — उनले ४ ओभरमा ३३ रन खर्चेर ४ विकेट लिए। मार्क वाट र नन्दन यादवले एक-एक विकेट हात पारे।
यो खेलअघि दुवै टोलीले आ-आफ्नो पहिलो खेल खेलिसकेका थिए। विराटनगर चितवन राइनोजसँग ८ रनले पराजित भएको थियो भने कर्णालीले जनकपुर बोल्ट्सलाई १९ रनले हराएको थियो। बिहीबारको पहिलो खेलमा भने जनकपुरले काठमाडौँ गोर्खाजलाई ८ विकेटले पराजित गरेको थियो। अब कर्णालीको जवाफी ब्याटिङले खेलको नतिजा तय गर्नेछ।
