नेपाली कांग्रेसले पन्ध्रौँ महाधिवेशनबाट चुनिएका १९ पदाधिकारीको वरिष्ठता क्रम टुंगो लगाएको छ। बिहीबार निर्वाचित पदाधिकारी र सदस्यले शपथ लिएपछि सानेपास्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले उनीहरूको क्रम निर्धारण गरेको हो। महाधिवेशनपछि बनेको नयाँ कार्यसमितिले यस निर्णयसँगै पदाधिकारीहरूको औपचारिक स्थान स्पष्ट पारेको छ।
निर्धारित क्रममा सबैभन्दा माथि सभापति गगन थापा रहेका छन्। उनपछि वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा दोस्रो स्थानमा छन् भने महिला उपसभापति पुष्पा भुसाल तेस्रो स्थानमा परेकी छन्। खुला समूहबाट उपसभापतिमा विजयी डा. चन्द्रकान्त भण्डारी र मधु आचार्य क्रमशः चौथो र पाँचौँ स्थानमा छन्। समावेशी समूहबाट उपसभापति बनेका विनोद चौधरी छैटौँ स्थानमा राखिएका छन्।
महामन्त्रीहरूमा प्रदीप पौडेल सातौँ, डा. डिला संग्रौला पन्त आठौँ र उदय शमशेर राणा नवौँ स्थानमा छन्। पौडेल र राणा खुला समूहबाट तथा संग्रौला पन्त महिला समूहबाट महामन्त्रीमा निर्वाचित भएका थिए।
सहमहामन्त्रीहरूतर्फ जनजाति समूहबाट निर्वाचित बहादुर सिंह लामा दशौँ स्थानमा छन् र उनी ११ सहमहामन्त्रीमध्ये पहिलो क्रममा परेका छन्। त्यसपछि योगेन्द्र चौधरी एघारौँ, प्रकाश स्नेही रसाइली बाह्रौँ, जीवन शाही तेह्रौँ, अजय चौरासिया चौधौँ, आङ्गेलु शेपा पन्ध्रौँ, रामहरि खतिवडा सोह्रौँ, प्रतिमा गौतम सत्रौँ, अजयबाबु सिवाकोटी अठारौँ र डा. फिरदोश आलम उन्नाइसौँ स्थानमा रहेका छन्।
