बाजुरामा आज बिहानदेखि इन्टरनेट र टेलिफोन सेवा अवरुद्ध भएको छ। साँफे–मार्तडी खण्डको नुनेपानीमा तार काटिएपछि जिल्लामा सञ्चार सेवा बन्द भएको हो। जिल्लामा फाइबर इन्टरनेटको मुख्य लाइन काटिएपछि सेवा प्रवाह ठप्प भएको थियो। बिहानदेखि सेवा बन्द हुँदा जिल्लाभर फोन सम्पर्क र इन्टरनेट प्रयोग ठप्प भएको थियो।
नेपाल दूरसञ्चार कार्यालय बाजुराका प्रमुख ईश्वर सिंहका अनुसार उच्च गतिको फाइबर इन्टरनेटको तार काटिएपछि इन्टरनेटसँगै टेलिफोन सेवा पनि अवरुद्ध भएको थियो। काटिएको तार मर्मत गर्न प्राविधिक टोली खटिएको उनले बताएका छन्।
मर्मतमा केही समय लाग्ने भएपछि वैकल्पिक लाइनमार्फत आंशिक सेवा सञ्चालन गरिएको छ। सदरमुकाम मार्तडीमा खप्तड छेडेदहको आटिचौरबाट लाइन जडान गरेपछि केही सेवा फेरि सञ्चालनमा आएको कार्यालय प्रमुख सिंहले जानकारी दिएका छन्। आटिचौरबाट जडान गरिएको लाइनबाट सदरमुकाममा आंशिक सेवा उपलब्ध भएको हो।
इन्टरनेट र टेलिफोन दुवै सेवा एकैपटक बन्द हुँदा जिल्लामा सञ्चार सम्पर्कमा कठिनाइ भएको थियो। दिनभर सेवा अवरुद्ध हुँदा विभिन्न कार्यालयका कामकाज, अनलाइन सेवा प्रवाह र सञ्चारसम्बन्धी गतिविधि प्रभावित भएका थिए। सेवा अवरुद्ध हुँदा कार्यालयको कामका साथै अनलाइनमार्फत लिइने सेवामा पनि बाधा पुगेको थियो। काटिएको तारको मर्मतको काम भइरहेको छ।
