रौतहटका १६ वर्षीय राहुल यादवले नेपाल प्रिमियर लिगको तेस्रो संस्करणमा पहिलो दुई खेलमै सबैको ध्यान तानेका छन्। ट्यालेन्ट हन्टबाट जनकपुर बोल्ट्समा आबद्ध भएका उनले दुई खेलमा कुल छ विकेट लिएका छन् भने दोस्रो खेलमा प्लेयर अफ द म्याचको सम्मान पनि पाएका छन्।
कीर्तिपुर मैदानमा कात्तिक १० गते कर्णाली याक्सविरुद्धको खेलबाट उनले एनपीएलमा पदार्पण गरे। खेलको पहिलो बलमै उनले दीपक डुम्रेलाई आउट गरे। त्यसपछि छैटौँ ओभरमा हुसेन तलतको विकेट पनि लिए। सो खेलमा उनले दुई विकेटसँगै दुई क्याच पनि लिएका थिए।
कात्तिक १२ गते काठमाडौँविरुद्धको दोस्रो खेलमा उनको प्रदर्शन अझ प्रभावशाली रह्यो। चार ओभरमा ३१ रन खर्चिएर उनले चार विकेट लिए। उनले साम हेजलेट, स्मित पटेल, करण केसी र मोहम्मद आदिल आलामलाई आउट गरे। उनकै बलिङमा काठमाडौँ १९ ओभर ३ बलमा ११५ रनमा समेटियो, र जनकपुरले १७ ओभर २ बलमा ११६ रनको लक्ष्य पूरा गर्यो।
चन्द्रपुर क्रिकेट एकेडेमीमा क्रिकेट सिकेका राहुल मधेस प्रदेशको छनोट प्रतियोगितामा ४४६ खेलाडीलाई पछाडि पार्दै छानिएका थिए। रौतहटको बौधिमाई नगरपालिका घर भएका उनी अहिले कक्षा ९ मा अध्ययनरत छन्। इंग्ल्यान्डका मोइन अलीले उनलाई नेपाली क्रिकेटका उदयमान खेलाडी भनेका छन्। सिनियर खेलाडीसँग सिक्न पाउँदा खुसी लागेको राहुलले बताएका छन्।
