कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका–७, कञ्जभोजका खेतमा जोगबुढा नदीको पानी सौर्य ऊर्जाबाट चल्ने लिफ्ट प्रणालीमार्फत पुग्न थालेपछि स्थानीय किसानमा खुसी छाएको छ। लामो समयदेखि सिँचाइको अभाव झेल्दै आएका किसानले अब खेतमा सहजै पानी पाउने भएका छन्।
स्थानीय किसान देवीसरा सुनारका अनुसार सिँचाइ सुविधा नहुँदा खेती गर्न निकै कठिन थियो। उनले अब तरकारी खेतीसमेत सजिलो हुने बताए। अर्का किसान ललितसिंह ठकुरीले क्षेत्रमा किसानको सङ्ख्या धेरै रहेकाले नयाँ सुविधाले खेतीपातीमा ठूलो सहजता ल्याएको बताए।
महाकाली सिँचाइ तेस्रो चरण आयोजनाका प्रमुख गणेश मरासिनीका अनुसार आठ करोड नौ लाख रुपियाँ लागतमा निर्माण भएको यो योजनाले दुई सय हेक्टर जमिनमा सिँचाइ पुर्याएको छ। सौर्य लिफ्ट सिँचाइका लागि २०७९ सालको मंसिरमा ठेक्का सम्झौता भएको थियो। महाकाली नदीबाट सिधै पानी ल्याउन नसकिने भएकाले यो वैकल्पिक व्यवस्था गरिएको हो।
५६.८५ वर्गकिलोमिटर क्षेत्रफल रहेको दोधारा–चाँदनीमा तीन हजार छ सय हेक्टरमा खेती हुँदै आएको छ। माटो खेतीका लागि उपयुक्त भए पनि पानीको अभावले किसान समस्यामा थिए। यसअघि उनीहरूले मोटरबाट पानी तान्दा प्रतिघण्टा दुई सय रुपियाँ तिर्नुपर्थ्यो। आयोजनाले मुख्य नहरबाहेक लिफ्ट र बोरिङबाट पनि सिँचाइ पुर्याउँदै आएको छ।
महाकाली सन्धिअनुसार भारतले शारदा ब्यारेजबाट ३५० क्युसेक पानी नहरमार्फत उपलब्ध गराउनुपर्ने भए पनि सीमा क्षेत्रसम्म एक हजार एक सय मिटर नहर निर्माण गर्ने विषय अझै टुङ्गो लागेको छैन। मरासिनीका अनुसार दोधारा–चाँदनीमा नहरका लागि विस्तृत परियोजना प्रतिवेदन तयार भई स्वीकृत भइसकेको छ, र नहरको पानी नपुगेका ठाउँमा लिफ्ट तथा बोरिङबाट सिँचाइ गरिएको छ। आर्थिक वर्ष २०६३/६४ मा सुरु भएको आयोजनाले २०८७ सालसम्म कैलालीको मालाखेतीसम्म एक सय ५१ किलोमिटर नहर निर्माण गरी कैलाली र कञ्चनपुरका ३३ हजार पाँच सय २० हेक्टरमा सिँचाइ पुर्याउने लक्ष्य राखेको छ।
