पाटन उच्च अदालतले टिकटक प्रयोगकर्ता तुलसा अधिकारीलाई थुनामा राख्ने निर्णयलाई निरन्तरता दिएको छ। ललितपुर जिल्ला अदालतले दिएको थुना आदेशविरुद्ध अधिकारीले दायर गरेको निवेदनमाथि सुनुवाइ गर्दै अदालतले जिल्ला अदालतको आदेशमा कुनै त्रुटि नदेखिएको ठहर गरेको हो।
न्यायाधीश खड्गबहादुर केसी र केशवप्रसाद अधिकारीको संयुक्त इजलासले आदेश परिवर्तन गर्नुपर्ने अवस्था नभएको निष्कर्ष निकालेको छ। आपराधिक लाभसम्बन्धी मुद्दामा जिल्ला अदालतले उनलाई थुनामा पठाएपछि अधिकारीले उक्त आदेश बदर गरी आफूलाई थुनाबाट मुक्त गर्न माग गर्दै उच्च अदालतमा निवेदन दिएकी थिइन्।
उनीमाथि एक पुरुषलाई हनी ट्र्यापमा पारेर आर्थिक फाइदा लिएको आरोप छ। अभियोगपत्रमा उनीविरुद्ध २१ करोड १२ लाख २० हजार ४०६ रुपैयाँ १६ पैसा बिगो माग गरिएको छ। सङ्गठित अपराध निवारण ऐन, २०७० को दफा ३ र ८ बमोजिम आपराधिक लाभ लिएको, हुन्डीमार्फत आर्जित सम्पत्तिको स्रोत र स्थान बदलेको तथा सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ विपरीत कसुर गरेको अभियोग लगाइएको छ।
अभियोगपत्रमा पीडितलाई क्षतिपूर्ति दिनुपर्ने र कानुनबमोजिम कडा सजाय हुनुपर्ने माग गरिएको छ। उच्च अदालतको यो निर्णयसँगै अधिकारी थुनामै रहने भएकी छन् र मुद्दाको थप प्रक्रिया कानुनी बाटोबाट अघि बढ्नेछ।
