चेन्नई । भारतको तमिलनाडुस्थित एउटा कारागारबाट भागेका १७ जना कैदीलाई प्रहरीले फेरि नियन्त्रणमा लिएको छ। करिब ३६ घण्टासम्म चलेको खोजीपछि उनीहरू विभिन्न ठाउँबाट पक्राउ परेका हुन्।
थेनी जिल्लाको थेक्कमपट्टी जेलमा सोमबार राति करिब साढे १० बजे एउटै कोठामा रहेका १८ कैदीमध्ये एक जनाले आफूलाई छारे रोगले च्यापेको अभिनय गरेका थिए। अरूले सहयोगका लागि कराउँदा कोठामा आएका जेल अधिकारीलाई कैदीहरूले नियन्त्रणमा लिए। त्यसपछि अन्य दुई सुरक्षाकर्मीमाथि आक्रमण गरी मुख्य ढोकाको साँचो खोसेर १७ जना बाहिर निस्किएका थिए। एक जना भने तुरुन्तै जेलमै फर्किएका थिए। भाग्ने सबै जना मुद्दाको सुनुवाइ कुर्दै गरेका थुनुवा थिए। घटनामा केही कर्मचारी घाइते भए।
खोजीका क्रममा नजिकैको गाउँको बसपार्कबाट चार जना र अटोरिक्सामा यात्रा गरिरहेका एक जना पक्राउ परे। जेल नजिकको जंगलमा ड्रोनबाट निगरानी गर्दा आठ जना भेटिए। ड्रोनकै सहयोगमा थप दुई जनालाई पक्राउ गरियो भने बाँकी दुई जनाले बुधबार आत्मसमर्पण गरे।
लापरबाहीको आरोपमा जेलका नौ कर्मचारी निलम्बनमा परेका छन्। कारागार महानिर्देशक सन्दीप राठोरले यसलाई मानवीय त्रुटिको परिणाम भनेका छन्। घटनाका बेला २०० क्षमताको जेलमा ३३४ कैदी थिए भने ड्युटीमा चार जना मात्र सुरक्षाकर्मी थिए। बिहीबार राठोरलाई कारागार प्रमुखको जिम्मेवारीबाट हटाएर अर्को विभागमा सरुवा गरिएको छ।
भारतको राष्ट्रिय अपराध अभिलेख ब्युरोको सन् २०२३ को प्रतिवेदनअनुसार देशभरका जेलमा क्षमताभन्दा २०.१ प्रतिशत बढी कैदी छन् र ७३ प्रतिशतभन्दा बढी थुनुवा सुनुवाइ पर्खिरहेका छन्।
