काठमाडौँमा शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यालय शिक्षासम्बन्धी कानुनको मस्यौदा तयार गर्ने कामलाई तीव्रता दिएको छ। लामो समयदेखि प्रतीक्षा गरिएको यो कानुनका विषयमा विभिन्न प्रदेशमा भएका छलफलहरूबाट आएका सुझावलाई समेटेर अन्तिम रूप दिने तयारी भइरहेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका प्रवक्ता श्रीप्रसाद भट्टराईका अनुसार सरकारले सङ्घीय संसद्मा पेस गरेको वार्षिक कार्यतालिकाअनुसार यो कानुनको तर्जुमाका लागि आवश्यक काम भइरहेको छ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, मन्त्रीका सल्लाहकार र मन्त्रालयका प्रतिनिधिहरूले प्रदेशस्तरीय छलफलमा सहभागी भएर कानुनबारे सुझाव सङ्कलन गरेका थिए। संविधान कार्यान्वयन र सङ्घीय संरचनाअनुकूल विद्यालय शिक्षा सञ्चालन गर्न यस्तो कानुन अत्यावश्यक रहेको मन्त्रालयको भनाइ छ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले चालु आर्थिक वर्ष २०८३/८४ मा संसद्मा पेस गर्ने भनी तयार पारेको सूचीमा १६६ वटा विधेयक रहेका छन्। तीमध्य शिक्षा तथा खेलकुद मन्त्रालयसँग सम्बन्धित नौ विधेयक छन्, र विद्यालय शिक्षा विधेयक तिनैमध्ये एक हो। विधायन ऐन, २०८१ ले प्रत्येक आर्थिक वर्षमा संसद्मा पेस गरिने विधेयकको सूचीसहितको वार्षिक कार्यतालिका असार मसान्तभित्र सङ्घीय संसद्मा पठाउनुपर्ने व्यवस्था गरेको छ। सोही व्यवस्थाअनुसार गत असार २४ र २५ गते सम्बन्धित मन्त्रालयहरूसँग छलफल गरी यस वर्षका विधेयकको प्राथमिकता तय गरिएको थियो। मन्त्रालयले अब ती सुझावलाई मिलाएर मस्यौदालाई अन्तिम रूप दिने र आगामी प्रक्रियाका लागि अघि बढाउने तयारी गरेको छ।
