बागलुङ । पर्यटकीय मौसम सुरु भएसँगै बागलुङ नगरपालिका–१० स्थित भकुण्डे गाउँको सामुदायिक घरबासमा विदेशी पाहुनाको चहलपहल बढेको छ। झ्यालबाटै हिमशृङ्खला देखिने, गाउँले जीवनशैली अनुभव गर्न पाइने र स्थानीय खानाका परिकार चाख्न पाइने भएकाले यो घरबास विदेशी पर्यटकको रोजाइमा पर्न थालेको हो।
हालै बेलायत, स्वीटजरल्यान्ड, अस्ट्रेलिया र अमेरिकाबाट आएका छ जना पर्यटकले तीन दिनसम्म घरबासमा बसेर गाउँको प्राकृतिक सौन्दर्य, संस्कृति र खानपानको अनुभव लिएका छन्। घरबास सञ्चालक याम थापाका अनुसार शुक्रबारदेखि आइतबारसम्म पाहुनाको चाप बढी हुन्छ। बागलुङ बजारबाट पदयात्रा गरेर वा जीप चढेर भकुण्डे पुग्न सकिन्छ।
विसं २०७३ देखि सञ्चालनमा रहेको यो घरबास जिल्लाकै पहिलो घरबास गाउँ हो। पछिल्ला छ वर्षदेखि विदेशी पर्यटकको आगमन निरन्तर रहेको सञ्चालकको भनाइ छ। पाहुनालाई नौमती बाजागाजासहित स्वागत गर्ने र मौसमी फूलका माला लगाइदिने परम्परा यहाँ छ।
बागलुङको पर्यटन प्रवर्द्धनमा सक्रिय महादेव शर्माको पहलमा दर्जनभन्दा बढी समूहका विदेशी पर्यटक भकुण्डे पुगिसकेका छन्। अमेरिका, दक्षिण कोरिया, चीन, जर्मनी र क्यानडालगायत देशबाट आउने पर्यटकमध्ये कतिपय हेलिकप्टरबाट समेत यहाँ पुग्ने गरेका छन्।
घरबास सञ्चालिका इन्द्रा थापाका अनुसार १५ घरमा सञ्चालित घरबासमा एक रातमा करिब १०० पर्यटक राख्न सकिन्छ। यहाँ स्थानीय आलु, भटमास, मकै, मुला, कोदोको ढिँडो र सेलरोटी, सिस्नो, गुन्द्रुक तथा खसी र कुखुराको मासुका परिकार खुवाइन्छ।
बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजनकुमार शाक्यका अनुसार मगर संस्कृति, पर्यटकीय उद्यान, भ्यूटावर र बराह तालले भकुण्डेलाई आकर्षक गन्तव्य बनाएको छ। घरबासबाट धवलागिरि, अन्नपूर्ण र माछापुच्छ्रे हिमाल देख्न सकिन्छ।
