बाँके — नेपालगन्ज रङ्गशालामा खेलकुदका संरचना भएर पनि तिनको उचित प्रयोग र संरक्षण हुन नसकेको गुनासो बढेको छ। आठौँ राष्ट्रिय खेलकुदका बेला बनेका संरचनाले खेलाडी खोजिरहेको अवस्था छ, तर खेलाडी उत्पादन नहुँदा संरचनाको हेरचाह नै चुनौती बनेको छ।
पौडी खेलका एसियाली अधिकारी दामोदर अर्यालका अनुसार रङ्गशालामा रहेका संरचनाले आफैँ ध्यान खिचिरहेका छन्। आर्थिक अभाव र अपनत्वको कमीले तिनको संरक्षण हुन नसकेको उनको भनाइ छ। रङ्गशालामा रहेको एक मात्र पौडी पोखरी पछिल्ला तीन वर्षदेखि स्विमिङ क्लबको पहलले मात्र जोगिएको उनले बताए। पोखरीको नियमित सरसफाइमा मात्र दुई लाखदेखि तीन लाख रुपैयाँसम्म खर्च भएको नेपालगन्ज स्विमिङ क्लबका अध्यक्ष केशव न्यौपानेले जानकारी दिए।
यसैबीच, कात्तिक १४ र १५ गते रङ्गशालामा तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदैछ। प्रतियोगिताका लागि पोखरीको सरसफाइ र आन्तरिक व्यवस्थापनको काम सकिएको क्लबले जनाएको छ। क्लबका महासचिव कृष्ण अधिकारीका अनुसार नेपाल र भारतका गरी दुई सय खेलाडीले नाम दर्ता गरिसकेका छन्। आठ वर्षमुनिदेखि १७ वर्षमुनि र खुला समूहका खेलाडीले फ्रि स्टाइल, ब्रेस्टस्ट्रोक, ब्याकस्ट्रोक, बटरफ्लाइ, रिले र व्यक्तिगत मेड्लेसहित छ विधाका ८० इभेन्टमा प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिता सम्पन्न गर्न करिब ३५ लाख रुपैयाँ खर्च हुने अनुमान छ।
मध्यपश्चिम खेलकुद विकास समितिका प्रमुख महेश चन्दले रङ्गशालाको आन्तरिक स्रोतबाट सक्दो काम भइरहेको बताए। सङ्घीयता लागू भएपछि बजेट ल्याउन कठिनाइ भएको उनको भनाइ छ।
