नवलपरासीका नेत्रलाल न्यौपानेले खरिद गरेको विद्युतीय गाडीको मर्मतमा भएको लापरवाहीका विषयमा उपभोक्ता अदालतले सीजी मोटर्सविरुद्ध फैसला सुनाएको छ। काठमाडौंस्थित उपभोक्ता अदालतका सदस्य गेहेन्द्र राज रेग्मी र आनन्दराज पोखरेलको संयुक्त इजलासले कम्पनीको आधिकारिक सेवा केन्द्रले गरेको गल्तीको दायित्व मूल कम्पनीले नै लिनुपर्ने ठहर गरेको हो।
न्यौपानेले २०७९ साल असोज १६ गते हात्तीवनस्थित बिक्री कक्षबाट ३७ लाख ४९ हजार रुपैयाँमा ‘नेटा भी’ मोडलको गाडी किनेका थिए। चौथो पटक कम्पनीकै सुझावमा उनी रुपन्देहीको तिलोत्तमास्थित ‘लोक सुशीला मोटर्स’ पुगेका थिए, जहाँ ब्याट्री प्याकमा उच्च चापको पानी प्रयोग गरिएपछि गाडी बिग्रिएको अदालतको ठहर छ। कम्पनीकै मापदण्डले त्यस्तो प्रयोग गर्न निषेध गरेको थियो।
त्यसपछि ड्यासबोर्डमा चेतावनी देखिनु, चार्ज गर्दा अस्वाभाविक आवाज र ताप बढ्नु तथा भैरहवाको भाटभटेनी नजिकै गाडी पूर्ण रूपमा बन्द हुनुजस्ता समस्या देखिएका थिए। गाडी ४५ दिनसम्म ग्यारेजमा रह्यो। कम्पनीले बिमामार्फत दाबी गर्न लगाएको र करिब चार हजार किलोमिटर गुडिसकेको अर्को गाडीको सेकेन्ड ह्यान्ड ब्याट्री जडान गरेको विषय पनि फैसलामा उल्लेख छ।
पछिल्लो चरणमा कम्पनीले ५ लाख ९१ हजार रुपैयाँको पुरानो बिल नतिरेसम्म गाडी मर्मत नगर्ने र फिर्ता नदिने अडान लिएको थियो। अदालतले उक्त बिल उपभोक्ताले तिर्न नपर्ने, बिमाबाट प्राप्त हुने रकम कम्पनी आफैंले लिने र वारेन्टीभित्रको गाडी निःशुल्क मर्मत गरी चल्न सक्ने अवस्थामा हस्तान्तरण गर्नुपर्ने आदेश दिएको छ। वारेन्टीको दायित्व बिमा कम्पनी वा उपभोक्तामा सार्नु उपभोक्ता संरक्षण ऐनको दफा ११, १६ र १८ विपरीत हुने ठहर अदालतले गरेको छ। न्यौपानेले मागेको ७८ लाख रुपैयाँ क्षतिपूर्ति भने अदालतले मञ्जुर गरेन।
