चितवनको भरतपुर महानगरपालिकामा लागूऔषध कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ। उनीहरूको साथबाट ४६ दशमलव ५५ ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय चनौलीको संयुक्त टोलीले भरतपुर महानगरपालिका–१९ मा छापा मार्दा उनीहरू पक्राउ परेका हुन्। सो क्षेत्रमा लागूऔषध बिक्रीवितरण भइरहेको भन्ने विशेष सूचना पाएपछि टोली परिचालन गरिएको थियो।
पक्राउ पर्नेहरूमा ३१ वर्षीय सागर तामाङ, ३८ वर्षीय रोशन गुरुङ र ४३ वर्षीय अमित लामा भन्ने ईश्वर लामा छन्। तामाङको स्थायी घर लमजुङको दोर्दी गाउँपालिका–८ भए पनि उनी हाल भरतपुर–१९ मा बस्दै आएका थिए। गुरुङ भरतपुर–२० का बासिन्दा हुन् भने लामा पनि भरतपुर–१९ मै बस्ने गरेको प्रहरीले बताएको छ।
प्रहरीले उनीहरूबाट लागूऔषधबाहेक ३९ हजार ५०० रुपैयाँ नगद र एक थान डिजिटल तराजुसमेत बरामद गरेको छ। उक्त सामग्री लागूऔषधको कारोबारसँग सम्बन्धित हुन सक्ने आशंकामा अनुसन्धान भइरहेको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक चन्द्र भूषण यादवले बरामद सामग्री र पक्राउको विवरण सार्वजनिक गरेका हुन्। पक्राउ परेकाहरूमाथि लागूऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
