विराटनगर । फागुन २१ गतेको निर्वाचनमा कोशी प्रदेशमा दोस्रो ठूलो शक्तिका रूपमा उदाएको श्रम संस्कृति पार्टीले आगामी स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर अभियानलाई तीव्र बनाएको छ । पार्टीले असोज ४ गतेदेखि सञ्चालन गरेको हातेमालो तथा पार्टी विस्तार अभियानमार्फत एक लाखभन्दा बढी नागरिकसँग प्रत्यक्ष संवाद गरेको र एक महिनाकै अवधिमा अन्य दलबाट तीन हजार पाँच सयभन्दा बढी कार्यकर्ता आफ्नो दलमा भित्र्याएको दाबी गरेको छ ।
उक्त निर्वाचनमा पार्टीले कोशी प्रदेशमा मात्रै दुई लाख ९२ हजार ४९ मत पाएको थियो । सुनसरीको क्षेत्र नम्बर १, खोटाङ र भोजपुरमा प्रत्यक्ष निर्वाचनसमेत जितेको पार्टीले परम्परागत दलहरूको शक्ति सन्तुलन भत्काएको थियो । अहिले अरू दलहरू सुस्त देखिँदा आफूहरू भने आगामी वैशाखसम्म हुन सक्ने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै मैदानमा सक्रिय रहेको पार्टीको भनाइ छ । फागुन २१ मा कोशीमा पहिलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई टक्कर दिने गरी तयारी भइरहेको पार्टीले जनाएको छ ।
अभियान अध्यक्ष हर्क साम्पाङको नेतृत्व र वरिष्ठ नेता सुदन किराँतीको प्रत्यक्ष कमान्डमा चलिरहेको छ । अभियानका क्रममा सोलुखुम्बु पुगेका किराँतीले यो अभियान पुराना दलहरूको जस्तो औपचारिक र परम्परागत नभएको बताए । उनका अनुसार तीन-चार महिने अभियानमा आ-आफ्ना कमिटीले आ-आफ्नो ठाउँमा श्रमदान र हातेमालो गर्दै काम गर्नेछन् । अहिलेको ध्यान संगठन निर्माणमा रहेको र निर्वाचनको प्रतिस्पर्धा त्यसपछि स्वतः आउने उनको भनाइ छ ।
कोशी प्रदेश अध्यक्ष प्रताप राईका अनुसार अभियान झापाको केचनाकवलबाट सुरु भएर सगरमाथाको फेदीसम्म पुग्ने लक्ष्यसहित अघि बढेको छ । हालसम्म दश जिल्लाका ७० स्थानमा कार्यक्रम भइसकेका छन् । जनताले भाषणभन्दा परिणाम खोजिरहेको र श्रमदानमार्फत गाउँटोलमा पुगेको अभियानले श्रमको सम्मान, सामाजिक एकता र भ्रष्टाचारविरुद्धको आवाज जगाएको राईको भनाइ छ ।
