काठमाडौं । नेपाल प्रिमियर लिगको तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किङ्सविरुद्ध अन्तिम बलमा रोमाञ्चक जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार भएको दिनको दोस्रो खेलमा कर्णालीले चार विकेटको जित निकाल्दै लगातार दोस्रो जित दर्ता गर्यो । विराटनगर भने लगातार दोस्रो खेलमा पराजित भएको छ ।
विराटनगरले दिएको एक सय ८७ रनको लक्ष्य पछ्याएको कर्णालीले अन्तिम ओभरको अन्तिम बलमा छ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । जितका नायक कप्तान सोमपाल कामी बने । उनले ३२ बलमा अविजित ६२ रन बनाए । गुलशनकुमार झाले २१ बलमा दुई छक्का र दुई चौकासहित अविजित २८ रन जोडेर उनलाई साथ दिए । पवन सर्राफले २८ बलमा ३६ रन, अरिफुल इस्लामले १२ बलमा ३२ रन र दीपक डुम्रेले ११ बलमा २० रन बनाए ।
विराटनगरका लागि एन्जेलो म्याथ्युजले तीन विकेट लिए भने चरिथ असलंका, कप्तान सन्दीप लामिछाने र प्रतिश जिसीले समान एक-एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ८६ रन बनाएको थियो । ओपनर लोकेश बमले ५२ बलमा तीन चौका र नौ छक्कासहित ८७ रन बनाए । म्याथ्युजले २३ बलमा ३१ रन र आन्द्रे रसेलले १५ बलमा २७ रन जोडे ।
बलिङमा कर्णालीका कप्तान सोमपाल कामी सबैभन्दा सफल रहे । उनले चार ओभरमा ३३ रन खर्चेर चार विकेट लिए । मार्क वाट र नन्दन यादवले समान एक-एक विकेट लिए । यसअघि आफ्नो पहिलो खेलमा विराटनगर चितवन राइनोजसँग पराजित भएको थियो भने कर्णालीले जनकपुर बोल्ट्सलाई हराएको थियो । बिहीबारको पहिलो खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गोर्खाजलाई आठ विकेटले पराजित गरेको थियो ।
