गाउँको रहनसहन, परम्परागत कला संस्कृति र स्थानीय परिकारको स्वाद लिन चाहने पर्यटक गुल्मीका ग्रामीण बस्तीतर्फ आकर्षित हुन थालेका छन्। जिल्लाका विभिन्न पालिकामा सञ्चालित घरबासले स्थानीय उत्पादनबाट बनेका खानेकुरा र पाहुनाको सत्कारलाई सँगै जोडेर ग्रामीण पर्यटनलाई नयाँ गति दिएका छन्।
स्थानीय जातको दालको बटुक, कोदोको सेलरोटी, सिस्नु, रैथाने मासुका परिकार, भुटेको मकै, टिमुरको छोप, बाँकोको गुन्द्रुक, मोही र अर्ग्यानिक तरकारी घरबासका मुख्य आकर्षण हुन्। पाहुनाले गाउँकै उत्पादनको स्वाद लिन पाउने र मौलिक जीवनशैली नजिकबाट बुझ्न पाउने भएकाले घरबासमा आउनेको सङ्ख्या बढ्दै गएको सञ्चालकहरू बताउँछन्।
नियमित सञ्चालनमा रहेका सत्यवती गाउँपालिका–८ भार्सेको रानीवन सामुदायिक होमस्टे, कालिगण्डकी गाउँपालिका–७ भुर्तुङको धुवाँखोला होमस्टे र रेसुङ्गा नगरपालिका–१३ भँगारीको रेसुङ्गा होमस्टेमा पर्यटकको उपस्थिति उल्लेख्य छ। आठ वर्षदेखि चलिरहेको रानीवन होमस्टेमा १४ महिला र तीन पुरुष आबद्ध छन् र एक पटकमा ५० जनासम्म पाहुना राख्न सकिन्छ। हिउँदमा त्यहाँ दैनिक ३५ देखि ४५ जनासम्म पर्यटक आउने गरेको सञ्चालक सुजन गलामीले बताए। ठाडो भाका, चुड्का, सालैजो, सोरठी, कृष्ण चरित्र र पञ्चेबाजाका प्रस्तुति तथा स्थानीय खानाले पाहुनालाई आकर्षित गर्ने गरेको छ।
धुवाँखोला होमस्टेमा पाँच जना महिला नियमित रूपमा आबद्ध छन् र २० जनासम्म पाहुना राख्न सकिने क्षमता छ। त्यहाँ झाँम्रे, सालैजो, ठाडो भाका, सोरठी र घाटुजस्ता सांस्कृतिक प्रस्तुति देखाइन्छ। सदरमुकाम तमघास नजिकैको रेसुङ्गा होमस्टेमा स्थानीय कुखुराको मासु, दालको बटुक, रोटी, सिस्नुको साग, बिरम्ला, भुटेको मकै, टिमुरको छोप, मोही र कोदोको ढिँडोजस्ता परिकार पाइन्छन्। ठुलो लुम्पेक, स्वाँरा र रेमीका सामुदायिक घरबासमा पनि अर्ग्यानिक खानासहित मागअनुसार सांस्कृतिक प्रस्तुति हुने गरेको छ। मेला, पर्व र औपचारिक कार्यक्रमका बेला घरबासमा पाहुनाको चाप अझ बढ्ने सञ्चालकहरू बताउँछन्।
