अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध अन्त्यको चरणमा पुगेको बताएका छन्। सोमबार ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै उनले सैन्य हिसाबले इरानको विषय धेरै हदसम्म टुंगिएको दाबी गरे। तर परिस्थिति बदलिए अमेरिकी सेना कुनै पनि बेला तयार रहने उनको भनाइ थियो।
कतारका प्रधानमन्त्रीसँगको भेटपछि अचानक ब्रिफिङ कक्षमा पुगेका ट्रम्पले इरानको परमाणु कार्यक्रम लामो समयसम्म पछाडि धकेलिनुपर्नेमा जोड दिए। उनले फेरि आक्रमण गर्ने धम्कीबाट पछाडि हट्ने संकेत पनि गरे। आइतबार एक अन्तर्वार्तामा उनले वार्ता अघि बढे र बलियो सम्झौता भए फेरि हमला गर्नुपर्ने सम्भावना निकै कम हुने बताएका थिए।
यसैबीच, अमेरिकी सेनाले पछिल्लो एक सातामा इरानमाथि कम्तीमा दुईपटक सीमित हमला गरेको छ। ती हमलामा इरानको हवाई प्रतिरक्षा प्रणालीलाई निशाना बनाइएको थियो। शनिबार अमेरिकी सेनाले इरानी बन्दरगाहमा लगाइएको नौसैनिक नाकाबन्दी तोड्न खोजेको आरोपमा एउटा व्यापारिक जहाजमाथि गोली चलाएर त्यसलाई निष्क्रिय पारेको थियो।
इरानका विदेशमन्त्री अब्बास अराघचीले भने अमेरिकाले सबै मोर्चामा युद्ध अन्त्य गरे दुई दिनभित्र होर्मुज जलसन्धि खोलिदिने बताएका छन्। उनले अमेरिकाले पहिले इरानका सर्त स्वीकार्नुपर्ने र त्यसो नभए इरान जवाफी हमलाका लागि तयार रहेको चेतावनी दिए।
गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि हमला सुरु गरेपछि युद्ध चर्किएको थियो। अप्रिल र जुनमा भएका युद्धविराम टिक्न सकेनन्। अहिले परमाणु कार्यक्रम, होर्मुज खोल्ने र युद्ध अन्त्य गर्ने विषयमा वार्ता चलिरहेको छ।
