गत वर्ष दर्शकमाझ निकै रुचाइएको फिल्म ‘ऊनको स्वीटर’को दोस्रो भागको काम औपचारिक रूपमा अघि बढेको छ। ‘कलेजी – ऊनको स्वीटर’ नाम दिइएको यो फिल्मको छायाङ्कन सिक्किमबाट सुरु भएको निर्देशक नवीन चौहानले जानकारी दिएका छन्।
छायाङ्कनको पहिलो चरण सिक्किमको युमथाङ उपत्यकामा थालिएको हो। त्यहाँका लामा गुरुहरूले मन्त्र पाठ गरेर फिल्मको कामका लागि शुभकामना दिएका थिए। पहिलो दिन अभिनेता पीयूष मिश्रा र एलेक्स पारस क्यामेरा अगाडि देखिएका थिए।
सुरुआती कार्यक्रममा सिक्किम फिल्म बोर्डका अध्यक्ष टासी छिरिङ भुटिया, सांस्कृतिक बोर्डका अध्यक्ष सञ्जय दिल्पाली राई, सहायक जिल्ला आयुक्त, भारतीय सेनाका प्रतिनिधि र स्थानीय लामा गुरुहरू सहभागी थिए। निर्देशक चौहानले त्यहाँ पाएको सहयोग र आशीर्वादका लागि सबैप्रति आभार व्यक्त गरेका छन्।
चौहानका अनुसार पहिलो फिल्मले छाडेको कथा, पात्र र अनुभवलाई यो नयाँ फिल्मले अझ ठूलो संसारसँग जोड्नेछ। प्रेम, जीवन र मानवीय भावनाका नयाँ पक्षहरू पर्दामा देखाइने उनको भनाइ छ। नेपाल, दार्जिलिङ, सिक्किम र दिल्लीमा छायाङ्कन हुने यो फिल्म आर्टमाण्डुको ब्यानरमा निर्माण हुन लागेको हो।
फिल्ममा विपिन कार्की, मिरुना मगर, पीयूष मिश्रा, एलेक्स पारस, परीक्षा लिम्बू, टेरिया मगर, सुरज तमु, शारदा देवी सिलवाल, भुवन सिंह राई र रुश्मा राईलगायत कलाकार देखिनेछन्।
