म्याग्दी । लगातारको पहिरोले सात दिनदेखि अवरुद्ध बेनी–दरबाङ सडक शुक्रबारदेखि सञ्चालनमा आएको छ। बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सीमाक्षेत्र फापरखेतमा असोज ३१ गतेदेखि निरन्तर सुख्खा पहिरो खस्न थालेपछि सो सडकखण्ड पूर्ण रूपमा बन्द भएको थियो।
पूर्वाधार विकास कार्यालय म्याग्दीले ठूला मेसिन प्रयोग गरेर पहिरो हटाउँदै बाटो पुनः खोलाएको हो। कार्यालयका अनुसार अहिले तत्काल आवागमन सहज बनाइएको भए पनि पहिरो रोकिएको छैन, त्यसैले दिगो समाधानका लागि थप काम गर्न बाँकी छ।
पहिरो पन्छाउने जिम्मा पाएको मङ्गला कन्ट्रक्सनका प्रतिनिधि राजु पाण्डेले दसैँलाई मध्यनजर गर्दै काम छिटो गरिए पनि निरन्तर पहिरो खसिरहेकाले समय लागेको बताए। दसैँको चहलपहल सकिएपछि जोखिमरहित र भरपर्दो सडक बनाउने योजना रहेको उनले जानकारी दिए।
कूल २४ किलोमिटर लामो यो सडक मङ्गला, मालिका र धौलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने प्रमुख मार्ग हो। सडक बन्द हुँदा दसैँ मनाउन गाउँ फर्किएका र कार्यक्षेत्र फर्कन लागेका यात्रुहरूले सास्ती खेपेका थिए।
