घरको सट्टा टेन्ट, गाउँको सट्टा अस्थायी बास — मकवानपुरको बकैया गाउँपालिका–६ स्थित तल्लो ज्यामिरेका प्रभावित परिवारले यस वर्षको दसैँ यस्तै अवस्थामा मनाउन बाध्य भए। असोज ११ गते लगातार वर्षापछि जमिन चिराचिरा भएपछि घरमा बस्न नसक्ने अवस्था आएपछि स्थानीय प्रशासनले उनीहरूलाई सुरक्षित स्थानमा सारेर टेन्ट र पाल उपलब्ध गराएको थियो।
गरगरे बस्तीका आठ घर जमिन चिरिएका कारण पूर्ण रूपमा क्षतिग्रस्त बनेका छन्। कतिपय ठाउँमा जमिन १२ फिटसम्म भासिएको र झन्डै दुई वर्गकिलोमिटर क्षेत्रको ठाउँठाउँमा जमिन फाटेको गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीले जानकारी दिए।
जमिन चिरिएको खबर आउने बित्तिकै स्थानीयवासीलाई अस्थायी रूपमा सुरक्षित स्थानमा स्थानान्तरण गरिएको थियो। वडा अध्यक्ष फूलमान भोम्जनका अनुसार पूर्ण क्षतिग्रस्तसहित ८० घरधुरीको बस्ती स्थानान्तरणका लागि जिल्लामा सिफारिससहित अनुरोध गरिएको थियो, तर दसैंअघि नै बस्ती सार्न नसकिएपछि पीडितहरूले अस्थायी आवासमै पर्व मनाए।
प्रभावित परिवारलाई टेन्टलगायत तत्काल आवश्यक सामग्री उपलब्ध गराइएको जनाउँदै स्थानीय तहले स्थायी स्थानान्तरणको प्रक्रिया अघि बढाउन पहल भइरहेको जनाएको छ।
