दसैँको बिदा सकिएसँगै काठमाडौँ उपत्यका फर्कने यात्रुको घुइँचो बढेको छ। टीका र आशीर्वाद थापेर घरबाट फर्कनेहरूको सङ्ख्या दिनहुँ उकालो लागेपछि उपत्यकाका मुख्य प्रवेश नाकाहरूमा सवारीसाधनको चाप देखिन थालेको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार नागढुङ्गा–कलङ्की, जडीबुटी–कोटेश्वर, तीनपिप्ले, भक्तपुरको जगाती, भट्टेडाँडा र दक्षिणकाली–फर्पिङ क्षेत्रमा सवारी आवागमन उल्लेख्य रूपमा बढेको हो। फर्कने यात्रुको सङ्ख्या बढ्दै जाँदा आवागमन व्यवस्थित राख्न र सम्भावित दुर्घटना रोक्न सडक निगरानी कडा बनाइएको छ।
कार्यालय प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले यात्रुको आवतजावत सहज बनाउन र बढ्दो चाप सम्हाल्न ट्राफिक प्रहरीलाई सक्रिय रूपमा परिचालन गरिएको बताए। प्रवक्ता नरेशराज सुवेदीका अनुसार निजी कार, जिप, मोटरसाइकल र साना–ठूला सार्वजनिक सवारीसमेत गरेर यतिबेला प्रमुख नाकाहरूमा दैनिक एक हजार हाराहारी सवारी आवतजावत गरिरहेका छन्।
कार्यालयको तथ्याङ्कले देखाउँछ — यसपालि घटस्थापनादेखि कात्तिक ३ गतेसम्म ७९ हजार ६७६ सवारीसाधनमार्फत पाँच लाख ७६ हजार ५७८ जना उपत्यकाबाट बाहिरिएका थिए।
