काठमाडौँ — देशका अधिकांश सरकारी तथा सार्वजनिक निकायका वेबसाइट र अनलाइन सेवाहरू अस्थायी रूपमा बन्द छन्। इन्टरनेट प्रणाली सञ्चालनमा व्यापक रूपमा प्रयोग हुने पीएचपी प्रोग्रामिङ भाषामा गम्भीर सुरक्षा कमजोरी फेला परेपछि विश्वभर वेब सेवाहरू प्रभावित भएका छन्, जसको प्रत्यक्ष असर नेपालका सरकारी वेबसाइटमा परेको छ।
जोखिम सार्वजनिक भएसँगै राष्ट्रिय साइबर सुरक्षा केन्द्रले बिहीबार अत्यन्त जरुरी सुरक्षा एड्भाइजरी जारी गर्दै सबै प्रणाली तत्काल अपग्रेड गर्न र जोखिम नियन्त्रण नभएसम्म सतर्कता अपनाउन आग्रह गरेको थियो। एड्भाइजरीलगत्तै सार्वजनिक तथा संवेदनशील तथ्यांक रहेका अधिकांश वेबसाइटहरू बिहीबारदेखि नै डाउन गरिएका छन्।
अहिले दसैँको सार्वजनिक बिदा चलिरहेकाले नियमित सरकारी सेवा बन्द छन्। त्यसैले तत्काल गुनासो नआए पनि समस्या लम्बियो भने लाइसेन्स, राहदानी, राजस्व र नागरिक सेवाका अनलाइन प्रणाली अवरुद्ध हुने जोखिम छ।
राष्ट्रिय साइबर सुरक्षा केन्द्रका प्रवक्ता तथा निर्देशक राजकुमार महर्जनका अनुसार देखिएका दुई मुख्य कमजोरी समाधान गर्न पीएचपी भर्सन अपग्रेडको काम तीव्र पारिएको छ, र अपग्रेड पूरा भएपछि वेबसाइटहरू पुनः सञ्चालनमा आउने उनले बताए। सम्बन्धित निकायका प्राविधिकले नै अपग्रेड गरिरहेका छन् भने केन्द्रको एकीकृत डाटा व्यवस्थापन केन्द्रमा होस्ट भएका प्रणालीका लागि नेटवर्क पहुँच र सहजीकरणको काम भइरहेको छ।
प्राविधिकहरूका अनुसार एड्भाइजरीअनुसारको अपग्रेड ४–५ घण्टामा सकिने काम हो, तर दसैँ बिदाका कारण धेरै आईटी प्राविधिक बाहिर भएकाले पुनः सञ्चालनमा ढिलाइ भइरहेको छ। पुराना भर्सनका प्रणालीमा प्राविधिक रूपमा थप समय लाग्न सक्छ। कम निर्भरता भएका र आधुनिक भर्सनका वेबसाइट केही घण्टामै खुल्न सक्छन्, तर पीएचपी ८.१ वा सोभन्दा पुरानो संस्करणका लागि प्याच नै उपलब्ध नभएकाले त्यस्ता साइट अद्यावधिक गर्न केही दिन लाग्न सक्छ।
यो समस्या नेपालमा मात्र सीमित छैन। क्लाउडफ्लेयरका प्रमुख कार्यकारी म्याथ्यु प्रिन्सका अनुसार कमजोरी सार्वजनिक भएको ४५ मिनेटभित्रै दशौँ हजार र दुई घण्टाभित्र लाखौँ साइबर आक्रमणका प्रयास रेकर्ड भएका थिए। बुधबार नै जापान, फिनल्यान्ड, फ्रान्सलगायत देशका सरकारी निकाय, बैंकिङ, विमान सेवा र रेल प्रशासनले सावधानीस्वरूप अनलाइन सेवा अस्थायी रूपमा बन्द गरेका थिए। धेरै देशले सुरक्षा प्याच लागू गर्दै सेवा क्रमशः सुचारु गरिरहेका छन्, र नेपालमा पनि पूर्ण परीक्षण र अपग्रेडपछि वेबसाइटहरू क्रमिक रूपमा खोल्ने तयारी भइरहेको छ।
