युरोपमा यस वर्षको गर्मीयाममा असह्य तापक्रमका कारण ५० हजार ३९१ जनाको ज्यान गएको नयाँ अनुसन्धानले देखाएको छ। जुनदेखि अगस्टसम्म ८५४ वटा सहरमा गरिएको अध्ययनमा तीमध्ये ३२ हजार ६१९ जनाको मृत्यु जलवायु परिवर्तनले बढाएको तापक्रमसँग सिधै जोडिएको निष्कर्ष निकालिएको छ।
अध्ययनअनुसार जलवायु परिवर्तनका कारण थपिएको तापक्रमबाट भएको मृत्यु सन् २०२२ को गर्मीयामको तुलनामा ७१ प्रतिशतले बढेको छ। २०२२ मा यस्तो कारणबाट २९ हजार ४८० जनाको मृत्यु भएको थियो। अनुसन्धानले युरोपको करिब ४० प्रतिशत जनसङ्ख्या मात्रै समेटेकाले वास्तविक मृत्युसङ्ख्या अझै बढी हुन सक्ने जनाएको छ।
इम्पेरियल कलेज लन्डनकी जलवायु वैज्ञानिक तथा अध्ययनकी प्रमुख लेखक क्लेयर बान्र्सले जीवाश्म इन्धनको प्रयोगले बढाएको तापक्रमले सामान्यतया असजिलो हुने गर्मीलाई पनि घातक अवस्थामा पुर्याएको बताइन्। युरोपको तापक्रम औद्योगिक युगभन्दा अघिको तुलनामा २.५ डिग्री सेल्सियसले बढिसकेको छ भने यस गर्मीयाममा केही सहरमा तापक्रम सामान्यभन्दा १२ डिग्री सेल्सियससम्म माथि पुगेको थियो।
सबैभन्दा बढी मानवीय क्षति इटाली, फ्रान्स, स्पेन र जर्मनीमा भयो। मृतकमध्ये आधाभन्दा बढी ८५ वर्ष वा सोभन्दा माथिका थिए, तर २० देखि ४४ वर्ष उमेर समूहका पनि ८०० भन्दा बढी व्यक्तिले ज्यान गुमाएको सहलेखक ग्यारीफलोस कोन्स्टान्टिनोडिसले बताए।
कम्प्युटर नमूनासँग तुलना गरेर अनुसन्धानकर्ताहरूले गर्मीका मृत्युमध्ये जलवायु परिवर्तनको हिस्सा २००० को दशकको सुरुआतको ४५ प्रतिशतबाट अहिले ६५ प्रतिशत पुगेको निष्कर्ष निकालेका छन्।
विज्ञहरूले गर्मी पूर्वचेतावनी प्रणाली र सबैका लागि शीतलन सुविधा विस्तार गर्न सुझाव दिएका छन्। दीर्घकालीन समाधान जीवाश्म इन्धनको प्रयोग घटाउनुमै रहेको उनीहरूको ठहर छ।
