दसैँको टीका र जमरा थापेर आफन्तकहाँ छुट्टी मनाएका सर्वसाधारण धमाधम काठमाडौँ उपत्यका फर्कन थालेका छन् । यात्रु र सवारीसाधनको संख्या दैनिक बढ्न थालेपछि उपत्यका छिर्ने मुख्य सडकहरूमा सवारी चाप देखिएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार नागढुङ्गा–कलङ्की, जडीबुटी–कोटेश्वर, तीनपिप्ले, भक्तपुरको जगाती, भट्टेडाँडा र दक्षिणकाली–फर्पिङ खण्डमा गाडीको भिड बढेको छ । निजी कार, जिप, मोटरसाइकलसँगै साना र ठूला सार्वजनिक बस पनि सोही बाटोबाट उपत्यका भित्रिरहेका छन् । कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले यात्रुको यात्रा सहज बनाउन ट्राफिक प्रहरीलाई चुस्त राखिएको बताएका छन् ।
कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार फर्किने यात्रुको चाप थप बढ्न सक्ने भएकाले सडकमा निगरानी बढाइएको छ । दुर्घटना हुन नदिन र आवागमन व्यवस्थित बनाउन प्रहरीले ठाउँ–ठाउँमा जाँच र समन्वय गरिरहेको उनको भनाइ छ ।
ट्राफिक प्रहरीको तथ्याङ्कले दसैँ मनाउन उपत्यकाबाट बाहिरिनेको ठूलो लहर देखाएको छ । घटस्थापनादेखि कात्तिक ३ गतेसम्मको अवधिमा ७९ हजार ६७६ वटा सवारीसाधनबाट ५ लाख ७६ हजार ५७८ जना उपत्यका छोडेर घरतिर गएका थिए ।
