सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ मा पर्ने बाँके जङ्गल क्षेत्रमा शनिबार यात्रुवाहक विद्युतीय गाडी र ट्रक एकआपसमा जुध्दा १२ जना घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्गमा भएको उक्त दुर्घटनामा घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
सर्लाहीबाट बर्दिवासतर्फ गइरहेको मधेश प्रदेश ०४–००१ ज ००५७ नम्बरको ईभी र अर्को दिशाबाट आइरहेको प्रदेश १–०२–००२ ख १३२४ नम्बरको ट्रक बाँके जङ्गलमा ठोक्किएका थिए। ठक्करपछि दुवै गाडीका यात्रु घाइते भएका हुन्।
घाइते हुनेमा बाराका कामेश्वर सहनी र राजेन्द्र रामसहित सुवर्ण गाउँपालिकाका रञ्जित राम, भवन राम, रामदेव राम, विनोद राम र रुदल राम छन्। त्यस्तै सुवर्णकै हरिहर राम, कलैयाका नन्दन राम र उमेश राम, पचरौताका रामसन्देश राम तथा सिम्रौनगढका नवलकिशोर राम पनि घाइते भएका छन्।
गम्भीर अवस्थाका रञ्जित रामलाई थप उपचारका लागि कलैयास्थित एलएस न्युरो अस्पताल लगिएको छ भने बाँकी घाइतेको लालबन्दीस्थित मोडेल अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनामा परेका दुवै सवारीसाधनलाई प्रहरी चौकी फूलजोरमा राखिएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
