काठमाडौं । राजस्व अनुसन्धान विभागले सञ्चालन गर्दै आएको भेहिकल कन्साइन्मेन्ट ट्र्याकिङ सिस्टम (भीसीटीएस) अस्थायी रूपमा बन्द गरिएको छ। पीएचपी तथा सोसँग सम्बन्धित प्रविधिमा गम्भीर सुरक्षा कमजोरी फेला परेपछि राष्ट्रिय साइबर सुरक्षा केन्द्रले अत्यन्त जरुरी साइबर सुरक्षा एडभाइजरी जारी गरेकाले सेवा स्थगित गरिएको विभागले जनाएको छ।
विभागका अनुसार उक्त प्रविधिमा आधारित भीसीटीएस प्रणालीलाई थप सुरक्षित बनाउन आवश्यक सुरक्षा अद्यावधिक नहुन्जेल सेवा बन्द रहनेछ। प्राविधिक संवेदनशीलताको दुरुपयोग हुन सक्ने भएकाले तत्कालका लागि प्रणाली ठप्प पारिएको हो।
तर, ढुवानी र व्यापारमा अवरोध नआओस् भनेर विभागले वैकल्पिक व्यवस्था मिलाएको छ। प्रणाली बन्द रहेको अवधिमा मालवाहक सवारीसाधनहरूले नियमानुसार जारी गरिएका आधिकारिक बिलबिजकसहित आवश्यक कागजातहरू सवारीसाधनमै राखेर ढुवानी गर्न सक्नेछन्।
सुरक्षा अद्यावधिक सम्पन्न गरी प्रणाली पुनः सञ्चालनमा आएपछि सम्बन्धित सेवाग्राही, करदाता तथा निकायहरूले यथाशीघ्र त्यस अवधिका ढुवानीका लागि भीसीटीएस नियमानुसार जारी गर्नुपर्ने विभागले निर्देशन दिएको छ।
