बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ का अमजत अली शेख पछिल्लो सात वर्षदेखि थ्रेसर मेसिन सञ्चालन गरेर गाउँमै स्वरोजगार बनेका छन्। गाउँका धेरै युवा वैदेशिक रोजगारी वा अन्य पेसामा अल्झिरहेका बेला शेखले आफ्नै ठाउँमा कृषि सेवा व्यवसायबाट मनग्ये आम्दानी सम्भव रहेको देखाएका छन्।
तीन लाख ५० हजार रुपैयाँ लगानीमा थ्रेसर मेसिन किनेका उनले धानबालीको मुख्य सिजनमा मात्र सबै खर्च कटाएर करिब एक लाख ५० हजार रुपैयाँसम्म खुद नाफा कमाउने बताए। मेसिन सञ्चालनबापत उनी प्रतिघण्टा दुई हजार पाँच सय रुपैयाँ वा प्रति क्विन्टल धानमा १२ किलो धान सेवा शुल्क लिने गर्छन्। थ्रेसरले एक घण्टामा १० कठ्ठासम्मको धानबाली थन्क्याउन सकिने उनको भनाइ छ।
पराल दाइँ गर्नुपर्ने वा धान केलाइरहनुपर्ने झन्झट नहुने, काम छिटो र खर्च कम हुने भएकाले गाउँका सबै किसानले थ्रेसर प्रयोग गर्ने गरेका छन्। केही वर्षअघिसम्म किसानहरूले काटेको धान एउटै स्थानमा जम्मा गरेर पालैपालो थ्रेसर चलाउने गरेकामा अहिले हरेक खेतमा मेसिन पुर्याउनुपर्दा इन्धन र समय बढी खर्च हुने गरेको शेखको दुखेसो छ। धान झार्ने सिजनमा उनी बिहान ५ बजेदेखि राति १२ बजेसम्म किसानका खेतमा मेसिन पुर्याउँछन्।
बाँकेका गाउँगाउँमा आधुनिक कृषि प्रविधिको प्रवेशले परम्परागत खेती सहज बनेको छ। नेपालगञ्ज–१९ सुइया गाउँका अर्का किसान ध्रुवकुमार थापा क्षेत्री पछिल्लो एक दशकदेखि खेत जोत्न ट्र्याक्टर र धान–गहुँ थन्क्याउन थ्रेसर प्रयोग गर्दै आएका छन्। ‘गाउँमा खेताला पाउनै मुस्किल छ, पाइए पनि दैनिक ६ सयदेखि एक हजारसम्म ज्याला माग्छन्,’ उनले भने, ‘तर थ्रेसर लगाउँदा बिनाझन्झट समयमै धान भित्र्याउन पाइन्छ।’
