नेपाल प्रिमियर लिगको तेस्रो संस्करणमा नेपाली खेलाडीले सुरुवातदेखि नै आफ्नो प्रभाव देखाएका छन्। प्रतियोगिताका पहिलो छ खेल सकिँदा सबै छ खेलका उत्कृष्ट खेलाडीको सम्मान नेपाली खेलाडीले नै पाएका छन्। अघिल्ला संस्करणमा सुरुका खेलमा विदेशी खेलाडी हावी हुने गरेका थिए। यसपटक भने युवा खेलाडीदेखि अनुभवी खेलाडीसम्मले ठूला मञ्चमा आफ्नो क्षमता प्रमाणित गरिरहेका छन्।
दोस्रो संस्करणमा पहिलो आठ खेलमा जम्मा एक जना नेपाली खेलाडीले मात्र उत्कृष्ट खेलाडीको सम्मान पाएका थिए। यसपटक त्यो अवस्था पूरै बदलिएको छ। चर्चित विदेशी खेलाडी उपस्थित भए पनि नेपाली खेलाडीले खेलको नतिजा आफ्नो पक्षमा पार्न निर्णायक भूमिका खेलिरहेका छन्।
पहिलो तीन खेलमा बलरहरू चम्किए। उद्घाटन खेलमा लुम्बिनीका शेर मल्लले चार ओभरमा ११ रन खर्चेर तीन विकेट लिए। त्यसपछि चितवनका कमलसिंह ऐरीले चार विकेट लिएर टोलीलाई आठ रनको जित दिलाए। कर्णालीका युनिश विक्रम ठकुरीले पनि तीन विकेट लिँदै जनकपुरविरुद्धको जितमा योगदान दिए।
चौथो खेलमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले अविजित ५१ रन बनाए। उनले ३६ बलमा चार चौका र दुई छक्का प्रहार गरे। पाँचौँ खेलमा १७ वर्षीय राहुल यादवले काठमाडौँविरुद्ध चार विकेट लिए। उनले दुई खेलमा छ विकेट लिएका छन्। छैटौँ खेलमा कर्णालीका कप्तान सोमपाल कामीले चार विकेटसँगै अविजित ६२ रन बनाएर टोलीलाई जिताए।
