विराटनगर — पूर्वी नेपालका दुग्ध किसानलाई तिर्न बाँकी रकम उल्लेख्य रूपमा घटेको छ। विराटनगर दुग्ध वितरण आयोजनाले किसानहरूको बक्यौता करिब तीन करोड रुपैयाँमा झरेको जनाएको छ। एक समय यो रकम करिब ३५ करोड रुपैयाँसम्म पुगेको थियो।
आयोजनाका निमित्त प्रमुख नविन किशोर शर्माका अनुसार दूध तथा दुग्धजन्य पदार्थको बिक्री बढेसँगै बक्यौता क्रमशः घट्दै गएको हो। आयोजना किसानलाई प्रत्येक १५ दिनमा किस्ता रकम बुझाउँदै आएको छ। अहिले साउन र भदौ महिनाको किस्ता मात्र तिर्न बाँकी रहेको र त्यसबाहेक चल्ती बिल मात्र रहेको उनले बताए।
शर्माका अनुसार पछिल्लो समय दूध तथा दुग्धजन्य पदार्थको बिक्री झन्डै ५० प्रतिशतले बढेको छ। आयोजनासँग अहिले घिउको मौज्दात जम्मा पाँच मेट्रिक टन मात्र रहेको छ।
आयोजनाले पूर्वका किसानबाट दैनिक करिब १० हजार पाँच सय लिटर दूध संकलन गरिरहेको छ भने करिब पाँच हजार लिटर बराबरको दूध र दुग्धजन्य पदार्थ बिक्री गरिरहेको छ।
कार्तिकदेखि दूध संकलन बढेर दैनिक करिब १५ हजार लिटर पुग्ने अनुमान छ। दैनिक खपतबाहेक बच्ने करिब १० हजार लिटर दूधबाट पाउडर दूध बनाउने तयारी रहेको आयोजनाले जनाएको छ।
