कर्णाली प्रदेशले गत आर्थिक वर्षमा जडीबुटी निकासीबाट चार करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अनुसार ५८ प्रजातिका जडीबुटी बिक्रीबाट कुल चार करोड १७ लाख ६८ हजार ९९९ रुपैयाँ राजस्व उठेको हो।
सबैभन्दा धेरै आम्दानी झ्याउबाट भएको छ। मन्त्रालयका सूचना अधिकारी महेश नेपालीका अनुसार प्रतिकेजी ५० रुपैयाँ राजस्व दर रहेको झ्याउ एक लाख ८१ हजार ६०९ केजी निकासी हुँदा ९५ लाख ८५ हजार ४०० रुपैयाँ संकलन भयो। त्यसपछि जटामसीबाट ८७ लाख ८८ हजार ८७५ रुपैयाँ उठेको छ। प्रतिकेजी ७५ रुपैयाँ दर रहेको जटामसी ९६ हजार ७९२ केजी बाहिरिएको थियो।
यार्सागुम्बा (जीवनबुटी) बाट ७५ लाख ४४ हजार ३७१ रुपैयाँ राजस्व प्राप्त भएको छ। प्रतिकेजी ३१ हजार रुपैयाँ दर रहेको यार्सागुम्बा २५१ किलोग्राम ६५६ ग्राम बिक्री भएको नेपालीले बताए। कटुसी बिक्रीबाट २३ लाख ८१ हजार ६८० रुपैयाँ उठेको छ। प्रतिकेजी ४० रुपैयाँ दर रहेको कटुसी ३४ हजार ४४५ केजी निकासी भएको थियो।
सेतक चिनीबाट २० लाख ४६ हजार ५७५ रुपैयाँ राजस्व संकलन भएको छ। प्रतिकेजी २५ रुपैयाँ दर रहेको सेतक चिनी ४१ हजार ७३२ केजी बिक्री भएको थियो। टिमुरबाट १९ लाख ३९ हजार ४००, सिलाजितबाट नौ लाख ७७ हजार ८५०, सुगन्धवालबाट नौ लाख ५० हजार ५८० र रिठ्ठाबाट नौ लाख ४७ हजार ८३८ रुपैयाँ संकलन भएको मन्त्रालयले जनाएको छ। टिमुरको दर प्रतिकेजी १०, सिलाजितको ५०, सुगन्धवालको २५ र रिठ्ठाको तीन रुपैयाँ रहेको छ।
सो वर्ष कर्णालीमा कुल २१ लाख ५८ हजार ५८२ दशमलव ९४५ केजी जडीबुटी संकलन भएको थियो। त्यसैमध्ये १९ लाख ४६ हजार ८७५ दशमलव ७०५ केजी जडीबुटी प्रदेशबाट निकासी भएको मन्त्रालयले जनाएको छ।
