काठमाडौं — अखिल नेपाल फुटबल संघ (एन्फा) भित्रको विवाद र अन्योलबीच बसेको कार्यसमिति बैठकले अभियोजनमा परेका पदाधिकारीसँग जानकारी माग्ने निर्णय गरेको छ। वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको अध्यक्षतामा शुक्रबार बसेको बैठकले अध्यक्ष पंकजविक्रम नेम्वाङ, महासचिव किरण राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल सञ्जिव पाण्डेलाई पत्राचार गर्ने निर्णय गरेको हो।
आर्थिक अनियमितता तथा खेलमिलेमतोसम्बन्धी विषयमा राज्यका विभिन्न निकायबाट अनुसन्धान र अभियोजन भइरहेका बेला एन्फा विधान २०७७ को धारा ३९ (२) बमोजिम आह्वान गरिएको बैठकमा पदाधिकारीसहित १२ जना केन्द्रीय सदस्य सहभागी थिए। एक जना सदस्य भर्चुअल माध्यमबाट सहभागी भएका थिए।
बैठकले एन्फाको वर्तमान अवस्थाले समग्र नेपाली फुटबल परिवारमा अन्योल सिर्जना गरेको निष्कर्ष निकाल्दै संस्थालाई नियमित प्रक्रियामा फर्काउने आवश्यकता औंल्याएको छ। पदाधिकारी तथा कर्मचारीविरुद्ध भइरहेका अनुसन्धान, अभियोजन र अदालतसँग सम्बन्धित विषयमा कार्यसमितिलाई पर्याप्त जानकारी नभएको भन्दै सम्बन्धित व्यक्तिहरूसँग त्यसबारे जानकारी माग्ने निर्णय बैठकले गरेको हो।
महासचिवसमेत अभियोजनमा परेको अवस्थामा संघको दैनिक काम प्रभावित हुन नदिन सहायक महासचिव दामोदर भट्टराईलाई निमित्त महासचिवको जिम्मेवारी दिने निर्णय गरिएको छ। एन्फा विधानको धारा ३८ (६) र ६६ (४) अनुसार अर्को निर्णय नभएसम्मका लागि भट्टराईले कार्यसमितिको अधिकारक्षेत्रभित्र रहेर निमित्त महासचिवका रूपमा काम गर्नेछन्।
बैठकले फिफा, एएफसी, शिक्षा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्बाट एन्फालाई विभिन्न समयमा प्राप्त पत्राचार तथा निर्देशनको अवस्थाबारे अध्ययन र समन्वय गर्न उपाध्यक्ष दीपक खतिवडाको संयोजकत्वमा समिति गठन गरेको छ। समितिमा उपाध्यक्षद्वय विराटजंग शाही र दीर्घबहादुर केसी तथा सदस्यद्वय मनिष जोशी र टीकाराम लामा छन् भने निमित्त महासचिव भट्टराई सदस्य सचिव रहनेछन्।
एन्फा निर्वाचनलगायतका विषयमा फिफा, एएफसी र नेपाल सरकारका प्रतिनिधिबीच भौतिक उपस्थितिमा बैठक आयोजना गर्न पहल गर्ने निर्णयसमेत बैठकले गरेको छ। बैठकले दिवंगत दीपेन्द्र धिमालप्रति श्रद्धाञ्जली अर्पण गरेको छ भने फिफा यू–१५ वर्ल्ड फुटबल फेस्टिभलमा उत्कृष्ट प्रदर्शन गरिरहेका नेपाली युवा खेलाडीलाई बधाई दिँदै उनीहरूको प्रोत्साहन तथा सम्मानका लागि नेपाल सरकार र राष्ट्रिय खेलकुद परिषद्सँग अनुरोध गर्ने निर्णय गरेको छ।
