काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको समूहले पार्टीको १५औं महाधिवेशन काठमाडौंको खुलामञ्चमा गर्ने भएको छ । मंसिर २१ देखि २३ गतेसम्म सञ्चालन हुने महाधिवेशनका लागि आवश्यक स्थलहरू बुक गरिसकिएको समूहले जनाएको छ ।
देउवा समूहले गठन गरेको केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव अमृत कार्कीले महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । उनका अनुसार महाधिवेशनका लागि खुलामञ्चसँगै राष्ट्रियसभा गृह र भृकुटीमण्डप पनि बुक गरिएको छ ।
निर्वाचन समितिका अनुसार महाधिवेशनको उद्घाटन, बन्दसत्र र केन्द्रीय सदस्यहरूको मतदान खुलामञ्चमै हुनेछ । पदाधिकारी चयनका लागि भने राष्ट्रियसभा गृहमा मतदान गरिनेछ । भृकुटीमण्डप महाधिवेशनमा सहभागी प्रतिनिधिहरूको खानाको व्यवस्थाका लागि बुक गरिएको कार्कीले बताए ।
देउवा समूहले असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गरेको थियो भने कात्तिक १५ गते जिल्ला अधिवेशन गर्ने तयारी छ । वडा र जिल्ला तहका अधिवेशन सकिएपछि केन्द्रीय महाधिवेशनको बाटो खुल्ने समूहको भनाइ छ ।
