नेकपा (एमाले) भित्र अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमाथि उठेको प्रश्न तत्कालका लागि कमजोर भएको छ। तर पार्टी पुनर्गठनको विषय भने पूर्ण रूपमा टुंगिएको छैन।
भदौ ४ गते गुन्डुमा भएको छलफल र असोजको पहिलो साता भनिमण्डलमा बसेको केन्द्रीय कमिटी बैठकपछि अवस्था बदलिएको हो। निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनमा ओलीले निर्वाचनमा भएको पराजयको मुख्य जिम्मेवारी लिनुपर्ने, पार्टी पुनर्गठन गर्नुपर्ने र राष्ट्रिय प्रतिनिधि परिषद् बोलाउनुपर्ने सुझाव थियो। सुरुमा त्यसको पक्षमा देखिएका महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पछि ओलीकै नेतृत्वमा अघि बढ्ने धारणा राखे।
गुन्डु बैठकमा पौडेल, पृथ्वीसुब्बा गुरुङ, पोखरेल, प्रदीप ज्ञवाली, विष्णु रिमाल, रामबहादुर थापा र भानुभक्त ढकाल सहभागी थिए। त्यहाँ प्रतिवेदन कार्यान्वयनको पक्षमा रहेका नेताहरू पछि हटेको स्रोतहरूको भनाइ छ। त्यसपछि प्रतिवेदन पुनःलेखनको प्रयास पनि सफल भएन। असोज ५ को सचिवालय बैठकले प्रतिवेदन सचिवालयकै सम्पत्ति रहने तर अन्यत्र छलफल नहुने निर्णय गरेको बताइएको छ।
पोखरेलनिकट नेताहरूले भने उनले ओलीको नेतृत्वलाई साथ नदिएको भए कारबाहीको तयारी भएको दाबी गरेका छन्। ओलीले १२औँ महाधिवेशनमा पनि अध्यक्षको उम्मेदवार बन्ने तयारी गरेको दाबी पनि गरिएको छ। विद्यादेवी भण्डारी सक्रिय भएपछि पार्टीमा चार समूह देखिन सक्ने अनुमान गरिएको छ।
