भारतको जमुनाहदेखि चीनको हिल्सासम्म जोड्ने ५०५ किलोमिटर लामो कर्णाली करिडोरको ट्र्याक खोल्ने काम सकिए पनि सडक स्तरोन्नतिको गति सुस्त देखिएको छ। आयोजनाको काम निर्धारित समयमा सम्पन्न हुनेमा शंका बढ्दै गएको छ।
दक्षिण खण्डको १२३ किलोमिटर सडकमा दुई ठेक्काको प्रगति असमान छ। आर्थिक वर्ष २०८२/८३ देखि निर्माण सुरु भएका पिलुचौर–कुवाडी खण्डको वित्तीय प्रगति असोजसम्म ३५ प्रतिशत पुगेको छ भने कुवाडी–तुम्च खण्डको प्रगति आठ प्रतिशत मात्र छ। पिलुचौर–कुवाडी खण्डको २३.७ किलोमिटर सडकको ठेक्का पीएस कन्स्ट्रक्सनले एक अर्ब ९० करोड १८ लाख ९८ हजार ७३७ रुपैयाँ ४२ पैसामा पाएको छ। कुवाडी–तुम्च खण्डको २६.३ किलोमिटर सडकको ठेक्का सिंह–कन्टेक जेभीले एक अर्ब ९५ करोड ८४ लाख ५२ हजार १५३ रुपैयाँ ७५ पैसामा पाएको छ। दुवै ठेक्काको कुल रकम तीन अर्ब ८६ करोड तीन लाख ५० हजार ८९१ रुपैयाँ १७ पैसा छ। २०८२ असार २० गते सम्झौता भएका दुवै खण्डको काम २०८५ असार २५ सम्म सकिनुपर्ने हो। तर आयोजना सम्पन्न गर्ने म्याद आर्थिक वर्ष २०८४/८५ बाट संशोधन गरी २०८९/९० पुर्याइएको छ।
खुलालु–सल्लिसल्ला सडक योजनाका प्रमुख विष्णु दाश लामाका अनुसार १२३ किलोमिटरमध्ये ट्र्याक खोल्ने काम पूरा भएको छ, ५० किलोमिटरको स्तरोन्नति भइरहेको छ र थप ४१ किलोमिटरको ठेक्का व्यवस्थापन भइसकेको छ। यस खण्डमा १५ वटा पुल आवश्यक पर्ने देखिएको छ।
उत्तर खण्डको हिल्सा–सिमिकोट–सल्लिसल्ला सडकको १४६ किलोमिटर ट्र्याक खुलिसकेको छ। सल्लिसल्लादेखि खार्पुनाथसम्मको ३८ किलोमिटरमध्ये ३२ किलोमिटर कालोपत्रे गर्न ठेक्का भएको छ भने सिमिकोट–हिल्सा खण्डको ९५ किलोमिटरमध्ये ७२ किलोमिटरमा काम भइरहेको छ। सडक विभागले खुलालुदेखि हिल्सासम्मको २४६ किलोमिटर सडक चार लेनको कालोपत्रे बनाउने प्रस्ताव अघि सारेको छ, जसको लागत करिब ३६ अर्ब ९० करोड रुपैयाँ अनुमान गरिएको छ।
