बाँके जिल्लामा मतदाता नामावली अद्यावधिक गर्ने क्रममा तीन हजार ५० जनाको नाम सूचीबाट हटाइएको छ। जिल्ला निर्वाचन कार्यालय बाँकेले मृतक र दोहोरो नामावलीमा परेका मतदाताको विवरण छानबिन गरेर उक्त नाम हटाएको जनाएको छ।
कार्यालयका प्रमुख टेकबहादुर शाहीका अनुसार स्थानीय तहले मृत्यु भएको प्रमाणित गरी पठाएका व्यक्तिहरू र दुई जिल्ला वा दुई ठाउँमा नाम दोहोरिएका मतदाताको नाम हटाइएको हो। मतदाता नामावली अद्यावधिक कार्यविधि, २०८१ मा तोकिएको प्रक्रियाअनुसार २०८३ भदौ १५ गतेसम्म प्राप्त विवरण समेटेर यो काम सम्पन्न भएको उनले बताए।
सबैभन्दा धेरै नाम नेपालगञ्ज उपमहानगरपालिकाबाट हटाइएको छ। त्यहाँबाट ८२० जनाको नाम हटाइएको छ भने कोहलपुर नगरपालिकाबाट ७६६, राप्तीसोनारीबाट ३७१, खजुराबाट ३२०, बैजनाथबाट २८९, जानकीबाट १८६, डुडुवाबाट १७७ र नरैनापुर गाउँपालिकाबाट १२१ जनाको नाम हटाइएको छ।
यसैबीच, विसं २०८२ चैत २२ देखि २०८३ असोज २२ सम्मको अवधिमा जिल्लामा १३ हजार ८९७ जनाले मतदाता परिचयपत्रका लागि नाम दर्ता गराएका छन्। अनलाइन आवेदनबाट तीन हजार ४९६ र राष्ट्रिय परिचयपत्रमार्फत १० हजार ४०१ जनाले नाम दर्ता गराएका हुन्। नयाँ दर्ता हुनेमा छ हजार ७१३ महिला र सात हजार १८४ पुरुष छन्।
