१७ कात्तिक, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई प्रतिवादी बनाएर विशेष अदालतमा भ्रष्टाचारको अर्को मुद्दा दायर गरेको छ । आयोगले मंगलबार मुद्दा दर्ता गराएको हो ।
विशेष अदालतमा अहिले मुद्दा रुजु गर्ने काम भइरहेको छ । अदालतकी सूचना अधिकारी पार्वती हितानले नेपालविरुद्ध मुद्दा आएको पुष्टि गरेकी छन् ।
आयोगको आरोप छ, सुनसरीको इटहरीमा रहेको रिजाल क्यानिङ कम्पनी (रिजाल टासी इन्डस्ट्रिज) को हदबन्दीभन्दा बढी जग्गा मन्त्रिपरिषद्को निर्णयबाट सट्टापट्टाका नाममा बिक्री गरिएको थियो । इटहरीबाट विराटनगर जाने मूल सडकसँग जोडिएको जग्गा बिक्री गर्न दिइएको र त्यसको साटो दुर्गम स्थानको जग्गा लिइएको आरोप छ ।
उक्त सट्टापट्टाका लागि २०६६ सालमा तत्कालीन प्रधानमन्त्री नेपाल नेतृत्वको सरकारले अनुमति दिएको थियो । सोही निर्णयका आधारमा नेपाललाई दोषी करार गर्दै आयोग विशेष अदालत पुगेको हो ।
नेपालविरुद्ध पतञ्जली जग्गा प्रकरणको मुद्दा पनि विशेष अदालतमा विचाराधीन छ । नयाँ मुद्दा दायर भएसँगै उनीविरुद्ध विशेष अदालतमा विचाराधीन भ्रष्टाचार मुद्दाको संख्या बढेको छ ।
मुद्दा रुजु भएपछि अदालतले प्रारम्भिक सुनुवाइको मिति तोक्नेछ ।
