काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा अनलाइनमार्फत सट्टेबाजी गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतको बिहार राज्य, भोजपुर जिल्लाको टाउन थाना घर भई हाल काठमाडौं महानगरपालिका–१७ ठमेल बस्ने ३२ वर्षीय सोनु कुमार सिन्हा रहेको प्रहरीले जनाएको छ ।
त्रिवि क्रिकेट मैदानमा सञ्चालन भइरहेको एनपिएलका खेलमा केही व्यक्तिले अनलाइनमार्फत सट्टेबाजी गरिरहेको सूचना पाएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । यसबारे काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले जानकारी दिएका हुन् ।
प्रहरीका अनुसार सिन्हाको साथबाट दुई थान मोबाइल बरामद गरिएको थियो । ती मोबाइल जाँच गर्दा उनले चारवटा फरक अनलाइन बेटिङ साइटमा लगइन गरेर कारोबार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
उनले ती साइटमार्फत नेपाली रुपैयाँ ८९ लाख ८१ हजार ७२९ बराबरको कारोबार गरेको प्रहरी अनुसन्धानमा देखिएको छ ।
सिन्हालाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ५ अन्तर्गत दफा १२५ (जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने) कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
