प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद अर्यालसँग भेट गर्ने भएका छन्। मंगलबार दिउँसो सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा हुने भेटमा उनले विपक्षी दलहरूको पछिल्लो निर्णय र संघीय संसद्को अधिवेशन बोलाउनुपर्ने मागबारे जानकारी गराउने भएका हुन्।
सोमबार बसेको विपक्षी दलहरूको बैठकले संघीय संसद्को अधिवेशन तत्काल आह्वान गर्न सरकारसँग माग गरेको थियो। बैठकमा नेपाली कांग्रेससहित नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी नेपालका नेताहरू सहभागी थिए।
विपक्षी दलहरूले सञ्चारगृहमा प्रहरी प्रवेश गरेको, पत्रकार पक्राउ परेको, न्यायालयमा बिचौलियाको प्रवेश बढेको, कर्मचारीतन्त्रमा त्रास फैलिएको र सरकारको कार्यशैलीमाथि प्रश्न उठेको भन्दै ती विषयमा संसद्मा छलफल हुनुपर्ने अडान राखेका छन्। आङ्देम्बेका स्वकीय सचिव याम ढुंगानाका अनुसार सभामुखसँगको भेटमा यही विषयमा जानकारी गराइनेछ।
विपक्षी दलहरूले अधिवेशनको माग गर्दै सरकारमाथि दबाब बढाउँदै लगेका छन्। सभामुखसँगको भेटपछि यो विषयमा थप पहल हुने अपेक्षा गरिएको छ।
