काठमाडौं — स्वदेशी फूल तथा बिरुवाको उत्पादन र बजार विस्तारमा सरकारले साथ दिने भएको छ। कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले नर्सरी व्यवसायको विकासका लागि मन्त्रालयले नीतिगत र प्राविधिक सहयोग गर्ने प्रतिबद्धता जनाएकी छन्।
मंगलबार काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको तिहार फ्लोरा एक्स्पो २०८३ को उद्घाटन गर्दै मन्त्री चौधरीले रैथाने उत्पादनलाई प्राथमिकता दिने बताइन्। नर्सरी व्यवसायी संघ नेपालले आयोजना गरेको यो प्रदर्शनी कात्तिक २१ गतेसम्म चल्नेछ। एक्स्पोमा ७३ वटा स्टल राखिएका छन्। तीमध्ये ६३ वटा व्यवसायीका स्टल हुन् भने बाँकी सरकारी निकाय, संघ र प्रतिस्पर्धाका स्टल छन्।
मन्त्री चौधरीले नर्सरी व्यवसायीलाई जग्गाको अभाव रहेको स्वीकार गर्दै त्यसको समाधानका लागि भूमि बैंकको अवधारणा कानुनमार्फत ल्याउन लागिएको जानकारी दिइन्। नर्सरीलाई व्यापारमा मात्र सीमित नराखी वातावरण संरक्षण, हरियाली र जलवायु परिवर्तनको असर कम गर्नेसँग जोड्नुपर्ने उनको भनाइ थियो। यो क्षेत्रले युवा र महिलाका लागि रोजगारी सिर्जना गर्न सक्ने उनले बताइन्।
संघका अध्यक्ष रामजीप्रसाद तिमिल्सिनाले लामो समयदेखि प्रयोगविहीन रहेका सरकारी जग्गा नर्सरी व्यवसायीलाई भाडामा दिनुपर्ने माग गरे। तिहारमा ठूलो मात्रामा फूल आयात हुने भएकाले सयपत्री फूलमा आत्मनिर्भर बन्न आयात रोक्नुपर्ने उनको भनाइ थियो। आयोजकका अनुसार एक्स्पोमा ३५ हजार अवलोकनकर्ता आउने र एक करोड रुपैयाँभन्दा बढीको कारोबार हुने अपेक्षा छ।
