डोल्पाको जिल्ला कारागारबाट सुरुङ खनेर भागेका आठ कैदीमध्ये दुई जनालाई प्रहरीले रुकुम पश्चिमबाट पक्राउ गरेको छ। मंगलबार पक्राउ परेका दुवै जनालाई प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।
कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक सन्तोससिंह राठौरले पक्राउको पुष्टि गरेका छन्। उनका अनुसार पक्राउ पर्नेमा आठबिसकोट नगरपालिका–१० का ३२ वर्षीय रामबहादुर बिक र सल्यानको कुमाख गाउँपालिका–५ का २८ वर्षीय रेशम राना छन्।
दुवै जना जबरजस्ती करणीसम्बन्धी मुद्दामा डोल्पा कारागारमा सजाय भुक्तान गरिरहेका थिए। गत शुक्रबार राति उनीहरूसहित आठ जना कैदीले कारागारको सुरुङ खनेर भागेका थिए।
पक्राउ परेका दुई जनाबाहेक बाँकी छ जना अझै फरार छन्। प्रहरीले फरार कैदीहरूको खोजी जारी राखेको छ। भागेका कैदीहरूको खोजीमा प्रहरी टोलीहरू परिचालित छन् भने कर्णालीका प्रहरी प्रमुख आफैं डोल्पातर्फ गएका छन्।
यसअघि भागेका आठै जना कैदीको पहिचान सार्वजनिक भइसकेको छ। तीमध्ये पाँच जना जबरजस्ती करणी र तीन जना चोरीको मुद्दामा सजाय भुक्तान गरिरहेका थिए। घटनाको छानबिनका लागि इन्स्पेक्टर सिंहको नेतृत्वमा समिति गठन भएको छ भने केन्द्रबाट एसएसपी नेतृत्वको टोली डोल्पा पुगेको छ।
