डोल्पा कारागारबाट कैदीबन्दी भागेको घटनाको छानबिन प्रहरी प्रधान कार्यालयबाटै हुने भएको छ। त्यसका लागि पाँच सदस्यीय अनुसन्धान टोली डोल्पा पुगिसकेको छ।
जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक अनिलराज गिरीका अनुसार जिल्ला तहमा गठन भएको अध्ययन टोलीले अस्तिदेखि नै काम गरिरहेको छ भने केन्द्रबाट आएको टोली पनि डोल्पा आइपुगेको छ। टोलीको नेतृत्व नेपाल प्रहरी प्रदेश कार्यालय सुर्खेत (हाल नेपालगन्ज)का प्रहरी वरिष्ठ उपरीक्षक राजिवबहादुर बस्नेतले गरेका छन्।
बस्नेतका अनुसार टोलीमा प्रधान कार्यालयका तीन जना र कर्णाली प्रदेश प्रहरी कार्यालयका एक जना छन्। ‘मेरो नेतृत्वमा हामी पाँच जना भर्खर डोल्पा पुगेका छौँ,’ उनले भने, ‘जिल्ला प्रहरी कार्यालय पुग्यौँ, अब केही समयमा अनुसन्धानको कार्य अघि बढाउँछौँ।’
जिल्ला प्रहरी कार्यालयको इन्स्पेक्टरको कमान्डमा छुट्टै छानबिन समिति पनि बनेको छ। त्यस समितिलाई अध्ययन गर्न केही समय लाग्ने देखिएको छ।
शुक्रबार राति पाँच जना जबर्जस्ती करणी र तीन जना चोरी मुद्दाका कैदीले करिब चार मिटर लामो सुरुङ खनेर कारागारबाट भागेका थिए। भागेका कैदीको खोजी भइरहे पनि उनीहरू अहिलेसम्म फेला पर्न सकेका छैनन्।
