नेपाल धितोपत्र बोर्डले एनआईसी एसिया बैंकलाई चुक्ता पुँजीको ५० प्रतिशत बराबर हकप्रद सेयर निष्कासन गर्न स्वीकृति दिएको छ। बोर्डको सञ्चालक समितिको कात्तिक १७ गते बसेको बैठकले बैंकको हकप्रद सेयर निष्कासनसम्बन्धी प्रस्ताव पारित गरेको हो।
स्वीकृत योजनाअनुसार बैंकले १ः०.५० अनुपातमा हकप्रद सेयर जारी गर्नेछ। अर्थात् हाल दुई कित्ता सेयर भएका सेयरधनीले थप एक कित्ता सेयर किन्न पाउनेछन्। बैंकले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल सात करोड ४५ लाख ८७ हजार आठ सय ३५ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ।
यस निष्कासनमार्फत बैंकले सात अर्ब ४५ करोड ८७ लाख ८३ हजार पाँच सय रुपैयाँ पुँजी जुटाउनेछ। बैंकको हालको चुक्ता पुँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार रुपैयाँ रहेको छ।
हकप्रद सेयरको निष्कासन तथा बिक्री व्यवस्थापनको जिम्मेवारी एनआईएमबी एस क्यापिटल लिमिटेडले पाएको छ। बैंकले गत असार २४ गते बोर्डमा अनुमति माग्दै आवेदन दिएको थियो।
बोर्डको निर्णय भइसके पनि औपचारिक स्वीकृतिपत्र आउन बाँकी छ। पत्र प्राप्त भएपछि बैंकले सेयर निष्कासनको मिति, बुक क्लोज र आवेदन प्रक्रियासहितका विस्तृत विवरण सार्वजनिक गर्नेछ। जुटेको रकम पुँजी संरचना बलियो बनाउन, पुँजी पर्याप्तता अनुपात सुधार्न र बैंकको दीर्घकालीन विस्तार योजनामा प्रयोग गर्ने बैंकको योजना छ।
